कर्पोरेट/पर्यटन

पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ ।

‘टीका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारा तय गरिएको छ । महोत्सव आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालीको ठूलो चाड दसैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी पर्यटकलाई नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा महोत्सव गर्न लागिएको हो ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सव सफल बनाउन पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन् । कार्यक्रमलाई पोखराको पर्यटन क्षेत्रकै साझा कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा यस क्षेत्रका विभिन्न व्यक्तित्वले जोड दिनुभएको छ ।

महोत्सवमा पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिने, चङ्गा चेट प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइनेछ ।

नेपाली मौलिक खानाका परिकार, कला–संस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यावसायिक गतिविधि महोत्सवमा समेटिने भण्डारीले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँलाई पर्यटनसँग जोडेर पोखरामा महोत्सव आयोजना गर्नु यहाँको संस्कृति र पर्यटनलाई एकसाथ अगाडि बढाउने अवसर भएको बताउनुभयो ।

“दसैँ हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो । यसलाई पर्यटनसँग जोडेर देश–विदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ । यो कुनै एउटा संस्थाको मात्रै कार्यक्रम होइन । पोखराका सबै पर्यटनसम्बद्ध संस्थाले यसलाई साझा कार्यक्रमका रूपमा लिएर अगाडि बढ्नुपर्छ,” भुजेलले भन्नुभयो ।

ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले महोत्सव एउटा कार्यक्रम मात्र नभई पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर भएको बताउनुभयो । त्यसका लागि सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

ओटेफका अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटकमाझ पु¥याउन महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो । “हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.