राजनीति

‘देशका समस्या छुमन्तर गरेर समाधान हुन्छन् भन्ने अहंकार नदेखाऔँ’ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशका विद्यमान समस्यालाई हल्का रूपमा लिएर ‘छुमन्तर’ गरेर समाधान गरिदिन्छु भन्ने अहंकार कसैले देखाउन नहुने बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले मुलुक अहिले जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै समस्याको गम्भीरता बुझेर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताउनुभयो।

उहाँले देशका समस्या समाधान गर्न सजिलो बाटो खोज्ने वा तत्कालै सबै कुरा परिवर्तन गरिदिने दाबीभन्दा यथार्थ स्वीकार गरेर सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले महाधिवेशनलाई केवल नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमका रूपमा मात्र नलिन आग्रह गर्नुभयो। खुलामञ्चमा महाधिवेशन आयोजना गर्नुको अर्थ र सन्देश बुझ्नुपर्ने बताउँदै उहाँले नेपाली कांग्रेसले बीपी कोइरालाको पार्टीका रूपमा देश र लोकतन्त्रप्रति नयाँ संकल्प गर्नुपर्ने धारणा राख्नुभयो।

‘यो महाधिवेशन नेतृत्व चयन गर्ने इभेन्ट मात्रै होइन। खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने छ। केही संकल्प गर्नुपर्ने छ,’ सभापति थापाले भन्नुभयो।

उहाँका अनुसार खुलामञ्चको विशेषता फरक विचार र मत राख्ने व्यक्तिलाई एउटै सार्वजनिक थलोमा उभ्याउनु हो। मतभेद अन्त्य गर्ने नभई मतभेदलाई एउटै साझा मञ्चमा राखेर संवाद गर्ने संस्कारको विकास गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो।

‘खुलामञ्चले फरक मान्छेलाई एउटै सार्वजनिक ठाउँमा ल्याइदिन्छ। खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन, मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो खुलामञ्च,’ उहाँले भन्नुभयो।

दस वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु आफैँमा महत्वपूर्ण भएको बताउँदै उहाँले खुलामञ्च काठमाडौंको एउटा चौर मात्रै नभएको उल्लेख गर्नुभयो।

नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट विभिन्न राजनीतिक दल तथा नेताहरूले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उहाँले स्मरण गर्नुभयो।

जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले खुलामञ्चबाट सम्बोधन गरेको स्मरण गर्दै उहाँले खुलामञ्चले फरक विचार, असहमति र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताउनुभयो।

सभापति थापाले अब काठमाडौंमा मात्र नभई देशका विभिन्न ठाउँमा यस्ता ‘खुलामञ्च’ आवश्यक रहेको बताउनुभयो। त्यसका लागि सबैभन्दा पहिले राज्यका संरचना, संसद् र राजनीतिक दलभित्रै पर्याप्त खुलापन आवश्यक रहेको उहाँको भनाइ थियो।

‘संसद् अहिले खुला छैन। प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म खुला रहँदैन,’ उहाँले भन्नुभयो। सत्तामा रहेकाहरूले जनताका प्रश्न सुन्ने र उनीहरूसँग निरन्तर संवाद गर्ने संस्कार विकास गर्नुपर्ने बताउँदै सभापति थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने धारणा राख्नुभयो।

संसद् जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला, उत्तरदायी र जवाफदेही बनाउनुपर्ने उहाँले बताउनुभयो।

उहाँले पहाडदेखि तराईसम्म तथा भौतिक स्थानदेखि विद्युतीय माध्यमसम्म नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने खुला संवादका थलो आवश्यक रहेको बताउनुभयो।

राजनीतिक दलभित्र पनि प्रश्न र असहमतिका लागि पर्याप्त ठाउँ हुनुपर्नेमा उहाँले जोड दिनुभयो। नेतामाथि प्रश्न उठाउँदा वा फरक मत राख्दा पार्टी सदस्यतामै असर पर्ने अवस्था लोकतान्त्रिक संस्कार नभएको उहाँको भनाइ थियो।

‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उहाँले भन्नुभयो।

फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताउँदै सभापति थापाले लोकतन्त्रलाई संसद् र सडकमा मात्र खोजेर नहुने धारणा राख्नुभयो। राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैलीसमेत लोकतान्त्रिक हुनुपर्ने उहाँले बताउनुभयो।

सभापति थापाले नेपाली कांग्रेसको महाधिवेशनलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। नेतृत्व परिवर्तनसँगै पार्टीको कार्यशैली, संस्कार र जनतासँगको सम्बन्धमा समेत परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले कांग्रेसले जनताको अपेक्षा, असन्तुष्टि र प्रश्नलाई गम्भीरतापूर्वक सुन्नुपर्ने बताउँदै पार्टीलाई जनतासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो। अहिलेको समय परम्परागत राजनीतिक शैली दोहोर्‍याएर अघि बढ्ने नभई नयाँ सोच, नयाँ कार्यशैली र नयाँ जिम्मेवारीका साथ अघि बढ्ने समय भएको उहाँले बताउनुभयो।

उद्घाटन सत्रको अन्तिममा सम्बोधन गर्नुभएका सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवाको समेत स्मरण गर्नुभयो। महाधिवेशनको उद्घाटन उहाँबाट गराउने अपेक्षासहित उहाँका लागि कुर्सी राखिएको भए पनि देउवा उपस्थित हुन नसकेको उहाँले बताउनुभयो।

‘यहाँ हामीले शेरबहादुर दाइका लागि कुर्सी राखेका थियौँ। उहाँ आएर उद्घाटन गर्नुहुन्छ भन्ने अपेक्षा थियो,’ सभापति थापाले भन्नुभयो।

देउवाप्रति सम्मान व्यक्त गर्दै उहाँले व्यक्तिप्रतिको सम्मान केवल औपचारिकता वा व्यक्तिगत निकटताबाट नभई उहाँले निर्माण गरेको पार्टीलाई अझ बलियो र उचाइमा पुर्‍याएर गर्नुपर्ने बताउनुभयो।

‘शेरबहादुर देउवालाई सम्मान गर्ने भनेको उहाँको ढोकामा कतिपटक सलामी दियो भनेर होइन, उहाँले बनाएको पार्टी कति अग्लो बनायो भनेर हुन्छ,’ सभापति थापाले भन्नुभयो।

उहाँले कांग्रेसको वर्तमान नेतृत्व र कार्यकर्ताले विगतका नेताहरूको योगदानलाई सम्मान गर्दै उनीहरूले निर्माण गरेको राजनीतिक संस्थालाई अझ बलियो बनाउने जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो।

सभापति थापाले महाधिवेशनबाट नेतृत्व चयनसँगै पार्टीले देशको वर्तमान अवस्थाबारे स्पष्ट दृष्टिकोण र आगामी यात्राका लागि ठोस संकल्प गर्नुपर्ने बताउनुभयो।

उहाँले कांग्रेसलाई जनताको प्रश्न सुन्ने, आलोचनालाई स्वीकार गर्ने र फरक मतलाई सम्मान गर्ने लोकतान्त्रिक पार्टीका रूपमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.