ओमानमा सुरु भएको आइसिसी टि–ट्वान्टी विश्वकप एसिया इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ सम्पन्न खेलमा नेपालले कुवेतलाई ५८ रनको विशाल अन्तरले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । १ सय ४२ रनको विजयी लक्ष्य पाएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो ।
नेपालको सुरुवात भने सुखद रहेन । ओपनर आसिफ शेख (२), कप्तान रोहितकुमार पौडेल (१६), कुशल मल्ल (४) र सन्दीप जोरा (५) सस्तैमा आउट भएपछि नेपाल ११.४ ओभरमा ६३ रनमा ४ विकेट गुमाएर संकटपूर्ण अवस्थामा पुगेको थियो ।
एक छेउबाट विकेट झरिरहे पनि ओपनर कुशल भुर्तेलले धैर्यतापूर्वक ब्याटिङ गर्दै नेपाली इनिङ्सलाई सम्हालेका थिए। भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए ।
अन्तिम ओभरहरूमा ब्याटिङमा आएका गुल्सन झाले मात्र ६ बलमा ३ छक्का प्रहार गर्दै २० रनको विस्फोटक योगदान दिए । दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुइ–दुई ‘विकेट’ लिए ।
कुवेतलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले पहिलो ओभरमा विकेट लिएर दवावमा राखे । सन्दीप लामिछाने, कप्तान रोहित पौडेल, ललित राजवंशीले समान २-२ विकेट हात पारे भने कुशल भुर्तेल र नन्दन यादवले पनि एक-एक विकेट आफ्नो नाममा लेखाए।




प्रतिक्रिया राख्नुहोस्