जन सरोकारबिशेष

बूढीगण्डकीमा भोटेकोशीकै झल्को दिने बाढी, आरुघाटसम्म सतर्कता

गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएको छ । बाढीले तल्लो तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भन्दै सम्बन्धित निकायले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार आइतबार बिहान करिब ४ बजेतिर ठूलो आवाजसहित बाढी आएको हो। नदी थुनिने र खुल्ने क्रम जारी रहेकाले स्थानीय बासिन्दा त्रसित बनेको उहाँले बताउनुभयो।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बूढीगण्डकीमा आएको बाढी गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्तै रहेको बताउनुभयो। उहाँका अनुसार बाढीले दर्जनौँ घर बगाएको छ। यद्यपि, क्षतिको यकिन विवरण आइसकेको छैन।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत हुँदै आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने जोखिम रहेको बताउनुभयो। उहाँले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको छ।

मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क गराएको छ। महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ।

नेपाल प्रहरीले बाढीको बहाव नघटेसम्म त्रिशूली दोभानसम्म नदी किनारका क्षेत्रमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरेको छ।

प्रारम्भिक जानकारीअनुसार चुमनुब्री गाउँपालिका–६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको हो। बूढीगण्डकी नदी मनास्लु हिमालको पूर्वी मोहोडाबाट बग्छ।

बाढी आउनुको कारणबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन। माथिल्लो क्षेत्रमा वर्षा भएको अभिलेख नरहेको अवस्थामा कतै पहिरो खसेर नदी थुनिएको र पछि बाँध फुट्दा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.