जन सरोकारबिशेष

बेनीघाटदेखि मुग्लिनसम्म उच्च जोखिम, त्रिशूली–नारायणी किनारमा सतर्कता

गोरखाको चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।

बाढी पूर्वानुमान महाशाखाले धादिङको बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको अति उच्च जोखिम रहेकाले स्थानीय बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।

त्यस्तै, चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले नदीको बहावमा हुने परिवर्तनप्रति सचेत रहन अनुरोध गरिएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै चितवन प्रशासनले त्रिशूली र नारायणी नदी किनारमा माइकिङ गरी सर्वसाधारणलाई सतर्क गराएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलका अनुसार नदी किनारमा बसोबास गर्ने स्थानीय, देवघाटमा शवदाह गर्न जाने व्यक्ति, नदी किनारमा व्यापार गर्ने व्यवसायी, माछा मार्ने तथा पौडी खेल्नेहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ।

देवघाटमा शवदाह गर्नेहरूलाई सुरक्षित अग्लो स्थानमा जान र नारायणी किनारमा ठेला तथा रिक्सा राखेर व्यापार नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो।

बाढीको जोखिम कायम रहेकाले नदी किनारमा नजान, पानीको बहाव हेर्न नदीमा नपस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

बाढीसम्बन्धी पछिल्लो जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज हेर्न वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.