जन सरोकार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई हाल काठमाडौँको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट भएको सूचनापछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अपशब्द तथा अश्लील शब्द प्रयोग गर्ने, जथाभावी गालीगलौज गर्ने र धाकधम्की दिने जस्ता अभद्र व्यवहार गरेका थिए ।

सोही क्रममा घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका दुवै जना विरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.