जन सरोकार

बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माण भएको छ ।

तीनतले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन आइतबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।

गाउँपालिकाको रु एक करोड ३७ लाख सहयोगमा भवन निर्माण भएको अध्यक्ष भण्डारीले बताउनुभयो । स्थानीयवासीले रु छ लाख चन्दा सङ्कलन गरेर भवन परिसरमा सवारी पार्किङ र घेराबार गरेका छन् ।

भवन उद्घाटनका अवसरमा जग्गादाता र सहयोगीलाई सम्मान गरिएको थियो । भवन निर्माण भएको खुसीयालीमा बेगबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए । आर्थिक वर्ष २०८०/८१ मा रु ५० लाख र २०८१/८२ मा रु ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा विनियोजन भएको बजेटबाट रु २७ लाख ७१ हजारमा ठेक्कामार्फत तला थप गरेर सभाहल बनाएर भवनलाई पूर्णता दिइएको हो । भवनको भुँइ तलामा स्वास्थ्यचौकी र पहिलो तलामा वडा कार्यालयको सेवा सञ्चालन गरेको वडाध्यक्ष बिलप्रसाद फगामीले बताउनुुभयो ।

उहाँका अनुसार साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गर्नुभएको दुई आना तीन पैसा जग्गामा भवन निर्माण भएको हो । यसअघि बेग स्वास्थ्यचौकीको कच्ची भवनको साँघुरो कोठाबाट वडा कार्यालय सञ्चालनमा थियो ।

आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्न सहज भएको वडाध्यक्ष फगामीले बताउनुभयो । नयाँ भवनमा वडाध्यक्ष, सचिव, सदस्य, प्रशासन, बैठक कक्ष, भण्डारण कक्ष छन् ।

आठवटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो ।

वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालनमा छन् । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन छ ।

चालु आवमा दग्नाममा ४ नं वडाको कार्यालय भवन निर्माण गरिने र पिप्लेको वडा कार्यालय भवनलाई तालिम केन्द्रमा स्थानान्तरण गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले जग्गा प्राप्ति प्रक्रियापछि गाउँसभाको निर्णयअनुसार बेगमा पाँच शय्या क्षमताको अस्पताल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.