चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न
सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले विभिन्न चार मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावितहरूको सुनुवाइ सम्पन्न गरेको छ ।
समितिका सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा सोमबार बसेको बैठकले भारतका लागि प्रस्तावित डा निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित चरिनजङ्ग थापा र संयुक्त अधिराज्यका लागि राजदूत पदमा प्रस्तावित गौरव शमशेर जबराको सुनुवाइ सम्पन्न गरेको हो ।
बैठकमा प्रस्तावित चारै जना राजदूतले आ–आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने सांसदहरूले जिज्ञासा राख्दै प्रतिप्रश्न गर्नुभएको थियो । सो अवसरमा प्रस्तावित राजदूतहरूले सम्बन्धित मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध थप सुदृढ गर्ने, द्विपक्षीय सम्बन्ध विस्तार गर्ने, द्विपक्षीय संयन्त्रको क्रियाशीलता बढाउने, द्विपक्षीय व्यापार र कनेक्टिभिटी सुधारलगायत विषयमा पहल गर्नका लागि आफ्ना योजना प्रस्तुत गर्नुभएको थियो ।
त्यसअघि बैठकले प्रस्तावित राजदूतउपर प्राप्त उजुरीकर्ताका उजुरी सुनुवाई गरेको थियो । समितिले मङ्गलबार (असोज २७ गते) बिहान ९ः३० बजे बस्ने बैठकमा जर्मनीका लागि राजदूत पदमा प्रस्तावित सरू जोशी, इजरायलका लागि राजदूत पदमा प्रस्तावित सुरेशकुमार कर्ण, ओमानका लागि राजदूत पदमा प्रस्तावित पदमाक्षी राणा, कोरियाका लागि राजदूत पदमा प्रस्तावित प्रा डा सङ्गम श्रेष्ठ र स्पेनका लागि राजदूत पदमा प्रस्तावित प्राप्ति शेरचनको सुनुवाइ गर्ने जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्