प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन ओइरो
जेनजी आन्दोलनपछि भएको प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा धमाधम रिट दर्ता हुन थालेका छन् । मंगलबार अपरान्हसम्म आधादर्जन रिट दर्ता भैसकेका छन् ।
तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना हुनुपर्ने र यसका लागि आन्दोलनको आँधी हुरी ल्याउने बताइरहँदा रिट दर्ताको ओइरो लागेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन् ।
उहाँका अनुसार दर्ता भएका केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको देखिन्छ भने केहीमा प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठेका छन् ।
कोइरालाले एकपछि अर्को रिट निवेदनहरु पेश भइरहेकाले कुनमा कस्तोमा माग छ भनेर यकिन नगरिसकेको बताउँदै ती विषयहरुमा अरु निवेदन पनि आइरहेको जानकारी दिनुभएको छ ।
आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको सर्वोच्च अदालतले गत आइतबार पूर्ण बैठक बसी रिट निवेदन खुला गर्ने निर्णय गरेसंगै संसद विघटनबिरुद्ध रिट दर्ता हुन थालेका हुन् ।
गत भदौ २३ र २४ गते जेनजी युवा प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संसद विघटन भएर जेनजी युवा प्रतिनिधिको सिफारिसमेतको आधारमा २१ फागुनमा आम निर्वाचन गराउने म्यान्डेडपूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्