बिचार

लौ खाउ ! रास्वपालाई आफ्नै मान्छे घाँडो !!

लौ खाउ ! यो रास्वपा भन्नेले नि के काम गर्छ, गर्छ यार! अपराधी भनेर मान्छे पक्राउ गरेर ल्याउँछ, अदालतले छोडिदिन्छ। आफ्ना मान्छे राजदूत बनाउँछु भनेर लाग्छ। ती मान्छे त अयोग्य मात्रै हुँदारैछन्, संसदीय समितिले अयोग्य घोषित गरिदिन्छ।

पुरानाले रिसइबी साँध्न अयोग्य भनम भने सदनमा दुईतिहाइ छन् त! राजदूत छान्ने संसदीय समितिमा नि सबै रास्वपाकै सांसद होलान्! अनि विपक्षीलाई दोष लाउन नि कसरी लाउनु? नियुक्ति गर्ने मान्छे छान्न नि कस्ता मान्छे छानेछन् कुन्नि?

सारा संसारै आफ्नो पक्षमा हुँदादेखि पनि त्यो मेरो राजदूत बनाउने मान्छे नि गतिलो छान्न नसक्ने भनेपछि जेनजीको टिमभित्रका को मान्छेले छानेथ्यो? कसको सिफारिसमा यो काम भएको थियो?

भलै, राजदूत बनाउने मान्छे, सल्लाहकारले छाने हुन् कि बालेनले, साउदी अरबका लागि सिफारिस भएका गिरिबहादुर सुनार र मलेसियाका लागि सिफारिस भएका चुडामणि खरेललाई कसले छानेका हुन्? तर लाज त बालेनकै हुने भो, होइन र?

यता राजदूत छानबिन संसदीय समितिले सरकारलाई चुनौती दिइरहेका बेला फेरि कहाँ पुलिसको हाकिमको खेदो खन्दै हिँड्या माननीय खगेन्द्र सुनारको महिला हिंसासम्बन्धी काण्ड सामाजिक सञ्जालमा छताछुल्ल भएपछि बिचरा रास्वपा पार्टीलाई नि यो घटना सम्हालिनसक्नु भएको छ।

आफ्ना माननीयको घटना नसम्हालौँ भने नि पार्टीको बदनामी हुने, सम्हालौँ भने नि खगेन्द्र पार्टीका लागि साह्रै घाँडो भएका छन्। कसरी सेफ ल्यान्डिङ गर्ने हो ?

बिचरा र रास्वपा सभापति बल्लबल्ल प्रेस विज्ञप्ति जारी गरेर माननीयलाई निलम्बन गरेर छानबिन गर्ने भनेर कमिटी त गठन गरेर काम सुरु गर्न मात्रै के लागेका थिए, फेरि आफ्नै (रास्वपाका) महिला सांसदहरू खगेन्द्र सुनारलाई बर्खास्त गरिपाऊँ, यिनले महिलामाथि हिंसा गरे।

आज अरू महिलामाथि हिंसा गरेको काण्ड बाहिर आयो भने भोलि आफ्नै सहकर्मी सांसदमाथि यस्तो घटना घटाउँदैनन् भन्ने के ग्यारेन्टी छ? त्यसैले खगेन्द्र सुनारमाथि कारबाही गरिपाऊँ भनेर फेरि गोडा तीनबिसेकभन्दा बढी रास्वपा महिला सांसदहरूले विज्ञप्ति जारी गरेपछि फेरि ती महिलाहरूको विज्ञप्ति नि भाइरल भइराछ !

हेरौँ, यो खगेन्द्र काण्डले नि खगेन्द्रलाई मात्रै डुबाउने हो कि सिंगै रास्वपा पार्टी र दुईतिहाइको सरकारसमेतलाई नि डुबाउने हो, प्रतीक्षा त गर्नै पर्ने होला।

किनभने बाँके नं. ३ का जनता यति कडा रैछन् कि रास्वपाका नेता खगेन्द्र सुनारजस्तो पटपट मकैका फुला पड्केझैँ पड्केर भाषण र टेबल ठोक्नका लागि जिउँदा नेतालाई आफ्ना प्रतिनिधि बनाउन पाएपछि आफ्नो चुनाव क्षेत्रमा विकास नि त्यस्तै माननीयको बोली बगेझैँ बगेपछि अब त्यहाँका जनता नि कोही दुःखी–गरिब नहुने भए। सबै लाउने–खाने र समृद्ध हुने भएपछि अरू के चाहियो र?

खगेन्द्र सुनारजस्तै दुई–चारवटा यसरी नै खबरदारी गरेर भ्रष्टाचारीको सातो लिने खालका माननीय भए त देशले काँचुली नै फेर्थ्यो होला! तर के गर्नु, भित्रभित्रै आफूले लुड्याउने अनि बाहिरबाहिर चाहिँ इमानदार र स्वाभिमानी देखाउने र देखाउन सक्ने बेलासम्म त ठीकै हो।

तर अरूका विरुद्ध धेरै खेदो खन्नेले आफ्नै कहिलेकाहीँका गल्तीलाई लिएर अरू नि आफ्नाविरुद्ध खनिन थाले भने चाहिँ अलि गाह्रो हुँदो रैछ है! जुन हालत अहिले खगेन्द्र सुनारको भइराछ।

हुन त खगेन्द्रको माननीय पद पार्टीले लगे नि हिजका दिनमा उनका हातमा भएको जन्जिर कसैले लुट्न सक्ने छैन। जन्जिर बाँधेर माइतीघरमा बसे भने नि जिन्दगी गुजार्न के गाह्रो भो र ? माननीय भए नि काम त्यही खाने नै हो।

जन्जिर बाँधेर माइतीघरमा रमिता गरेर खाए नि खान्यै हो, होइन र ? अहिले जेनजीका विरुद्ध को बोल्न सक्छ र? उनीहरूले त जे गरे नि भाइरल!

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.