देश शोकमा रहेकाले कांग्रेसको चियापान कार्यक्रम नहुने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हरेक वर्ष बडा दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आयोना गर्दैआएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ।
देशमा पछिल्लो समय भएका विपद् तथा जनधनको क्षतिका कारण शोकको अवस्था रहेकाले यस वर्ष कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कात्तिक १ गते आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको जानकारी दिनुभएको हो।
पार्टीका नेता तथा कार्यकर्तासँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिने यस कार्यक्रमलाई राजनीतिक सद्भाव, आपसी संवाद र सम्बन्ध विस्तारको अवसरका रूपमा लिइँदै आएको छ।
कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि चियापान कार्यक्रम सुरु गर्नुभएको थियो। त्यसयता विशेष परिस्थिति बाहेक कांग्रेसले हरेक वर्ष यो परम्परालाई निरन्तरता दिँदै आएको छ।
पञ्चायती व्यवस्थाको कठिन राजनीतिक परिस्थितिमा समेत सुरु गरिएको चियापान कार्यक्रम कालान्तरमा कांग्रेसको नियमित राजनीतिक तथा सामाजिक परम्परा बनेको थियो।
दशैंको अवसरमा आयोजना गरिने यस कार्यक्रमलाई राजनीतिक मतभेदका बीच पनि नेताहरूबीच भेटघाट, संवाद र सम्बन्ध सुधार गर्ने साझा मञ्चका रूपमा हेरिँदै आएको छ।
विगतमा विभिन्न राजनीतिक परिस्थितिका कारण कार्यक्रम प्रभावित भए पनि कांग्रेसले यसलाई निरन्तरता दिने प्रयास गर्दै आएको थियो। यस वर्ष भने देशमा शोकको अवस्था रहेको भन्दै पार्टीले कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको हो।
कांग्रेसको यो निर्णयलाई विपद् र दुःखको घडीमा उत्सवमूलक कार्यक्रमभन्दा शोक र संवेदनालाई प्राथमिकता दिने कदमका रूपमा हेरिएको छ।




प्रतिक्रिया राख्नुहोस्