जन सरोकार

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ ।

कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दशैँ–तिहार मनाउन माइतीघर पुर्याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन उक्त अभियान सुरु गरेको हो । उक्त समूहले तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ ।

दशैँको अवसरमा कातिक–३ गतेदेखि ६ गतेसम्म तथा तिहारको अवसरमा कातिक–२४ गतेदेखि २६ गते निःशुल्क यातायात सेवा अभियान सञ्चालन गर्ने तयारी गरिएको संयोजक सञ्जयकुमार राईले जानकारी दिनुभयो ।

“यातायात सेवा नपाएका तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पुर्याउने योजनासहित दुई चरणमा अभियान सञ्चालन गर्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो ।

अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्थाका तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिनुभएको छ । अभियानमा पुरुषलाई पनि आवश्यकता अनुसार सेवा दिइनेछ ।

अभियानका सहभागी हुन ३५ जना युवाले नाम दर्ता गराएका छन् । “स्वयम्सेवा गर्न इच्छुक युवा थपिनेक्रम जारी छ । मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकहरुको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सेवा लिन चाहनेहरुले पनि विवरण टिपाउन थाल्नुभएको छ । सुरुमा विवरण टिपाएकालाई पहिलो प्राथमिकतामा राखेर निःशुल्क यातायात सेवा दिइनेछ ।

निःशुल्क सेवा लिन चाहनेले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला साथमा राख्न सक्नेछन् । जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको अभियानका संयोजक राईले जानकारी दिनुभएको छ ।

यो समूहले अभियानमार्फत २०८१ सालमा ३४५ जना र २०८२ सालमा ७०० जनालाई उक्त सेवा दिएको थियो । शुभेच्छुहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिँदै आएको अभियानका लागि एकपटकमा करिब रु चार लाख खर्च हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.