राजनीति

बाढी-पहिरा पीडितलाई प्रधानमन्त्रीको आश्वासन- राहतको व्यवस्था चाँडै हुन्छ

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरा पीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।

आइतबारदेखि लगातार परेको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा धेरै धनजनको क्षति भएको छ भने सडक, बाटोघाटोका साथै पाक्नै लागेका धानबाली र अन्य पशुचौपायाका साथै अन्नबालीसमेत नष्ट गरेको छ ।

सुदूरपश्चिममा यसै साता भएको वर्षाले भएको क्षतिको विवरण लिन अर्थमन्त्रीसहितको भ्रमणमा प्रभावित जिल्ला पुग्नुभएका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारहरुले जिल्लाका समस्याका बारेमा कुरा राखेका थिए ।

तीन दिनको अविरल वर्षाका कारण जिल्लामा दुई जनाको पहिरामा परी ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएको जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभयो ।

प्रधानमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आउनुभएका प्रधानमन्त्री देउवाले प्राकृतिक घटनाबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतक र घाइते परिवारका साथै धनजनको क्षति भएका परिवारलाई चाँडै राहतको व्यवस्था गर्ने बताउनुभयो ।

सुदूरपश्चिम अवलोकन भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगी आजै कञ्चनपुरका लागि निस्कनुभएको छ । बाढी–पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुङ्गाड निरीक्षणपछि उहाँ गृहजिल्ला डडेल्धुरा आइपुग्नुभएको हो ।

सदरमुकाम नजिकै रहेको अमगरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा यहाँका जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उहाँ जोगबुढाको अवस्था अवलोकन गरी प्रधानमन्त्री देउवा कञ्चनपुर हिँड्नुभएको छ ।

जोगबुढाबाट प्रधानमन्त्री देउवा कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानुहुनेछ । धनगढीबाट उहाँ शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम छ ।

यसअघि बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गर्नुभएयो । सो अवसरमा उहाँले बाढीपहिराले बझाङमा पु¥याएको क्षतिबारे विपद् व्यवस्थापन समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट जानकारी लिनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको तर्फबाट नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि चेतराज बजालले जिल्लामा नौ जनाको मृत्यु र २१ जना बेपत्ता रहेकाले उनीहरुको खोजी र पीडित पक्षलाई राहतको व्यवस्थापन गर्नुपर्ने, घरविहीन भएकालाई घर निर्माण तथा पुनःबासको व्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल जलविद्युत्, खानेपानी छिटो मर्मत तथा सञ्चालन गर्नुपर्नेलगायतका ६ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाउनुभयो ।

उक्त मागपत्रका बारेमा प्रधानमन्त्री देउवाले बझाङमा भएको दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई आगाडि बढाउने बताउनुभयो ।

बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा बझाङको थलारा गाउँपालिका–४ डिख्ला जाने कार्यतालिका रहेको भए पनि खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन सकेन ।

प्रधामन्त्री देउवाले बझाङस्थित सेनाकै हलमा जिल्ला प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग बाढीपहिराले बझाङमा पु¥याएको क्षतिबारे जानकारी लिनुभयो । प्रधानमन्त्रीसँगै अर्थमन्त्री जर्नादन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलगायत सहभागी हुनुहुन्थ्यो ।

अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन् । यस्तै बाढीपहिरामा परेर १६ जना घाइते भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.