क्रिकेटखेल

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि दक्षिण अफ्रिकाको एक विकेटको रोमाञ्चक जित

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले रोमाञ्चक जित निकालेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले रोमाञ्चक जित निकालेको हो ।

विश्वकप क्रिकेट

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७० रन बनाएको थियो । पाकिस्तानका लागि साउद सकिलले ५२ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ५२ रन बनाए भने कप्तान बाबर आजमले ६५ बलमा चार चौका र एक छक्काको मद्दतले ५० रन जोडे ।

त्यस्तै शादब खानले ४३ रन बनाई आउट भए भने मोहम्मद रिजवानले ३१, मोहम्मद नवाजले २४, इफ्तिखर अहमदले २१ र इमान उल हकले १२ रन बनाए । दक्षिण अफ्रिकाका लागि ताबरेज शाम्सीले चार, मार्को जेनसनले तीन, जेराल्ड कोएटजीले दुई र लुङ्गी एनगिडीले एक विकेट लिए । पाकिस्तानले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७.२ ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि एडेन मार्क्ररमले ९३ बलमा सात चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ९१ रनको अर्धशतकीय पारी खेले भने डेविड मिलरले २९ रन बनाए । यस्तै कप्तान टेम्बा बाभुमाले २८ रन बनाई आउट भए भने  क्विनटन डिककले २४, रस्सी भान डेर डुसेनले २१, मार्को जेनसनले २० बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन तथा हरिस रौफ, मोहम्मद वसिम र उस्मा मिरले समान दुई विकेट लिए ।

जितसँगै ६ खेलमा १० अंक जोडेको दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा चौथो हार सहित चार अंक जोडेको पाकिस्तान छैटौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.