देशमा गणतन्त्र स्थापित भएकै मधेसको बलिदानले : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताउनुभएको छ ।

सर्लाहीमा आज भएको माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक सङ्गठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले मधेशवादी दलसँग पार्टी एकता गरेको अगाडि बढ्ने विषयमा आफूले छलफल सुरु गरेकोसमेत बताउनुभयो । मधेसी जनताको हितमा काम गर्न पार्टी एकताको प्रस्ताव आफूले गरेको उहाँले बताउनुभयो ।
उहाँले पार्टी एकता गर्दा जसपाका नेतालाई सम्मानजनक स्थान दिन पनि आफू तयार रहेको बताउनुभयो । उक्त एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपेन्द्र यादव, महेन्द्रराय यादवलगायत नेताको नाम लिँदै सरकार निर्माणमा गठबन्धन भइसकेकाले अब पार्टी एकता गर्न सकिनेमा जोड दिनुभयो ।
आफू जनकपुर आएर पार्टी एकताको घोषणा गर्न तयार रहेको उहाँको भनाइ थियो । अहिलेको गठबन्धन सरकारले मधेसमा नागरिकतासम्बन्धी समस्याको चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेसले आफूलाई माया गरेको जनाउँदै आफूले मधेसबाट पाउने माया निरन्तर पाइराख्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्