यूएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी एकदिवसीय शृंखला अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले यूएईसामू जितको लागि २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
यूएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रन जोडे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३७ रन जोड्दा आसिफ शेखले ३४ र आरिफ शेखले ३० रन बनाए ।
यूएईका लागि ध्रुव पराशर, जुनेद सिद्दिकी र मुहम्मद जवादुल्लाहले समान २-२ विकेट लिए भने जाहिद अलीको भागमा एक विकेट रह्यो । नेपाल जारी सिजनमा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ । सिरिजमा नेपालसहित अमेरिका र यूएईको सहभागिता रहेको छ ।
अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छ भने युएई एक खेलमा विजयी भएको छ ।
नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो। यस्तै तेस्रो खेलमा पनि नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।
लिग २ को अंक तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोड्दा शीर्ष स्थानमा छ भने १९ खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा रहेको छ । यता यूएई १९ खेलमा ८ अंक जोड्दा तालिकाको पुछारमा छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायत रहेका छन् ।





प्रतिक्रिया राख्नुहोस्