पटाका आतंक- जनताका कान फुटे पनि सरकारको कान खुल्दैन !
हैन ! सरकारले पटका भित्र्याउन र पटकाउन नपाइने, शान्ति सुरक्षा दुरुस्त राख्ने, धुवाँ तथा ध्वनि प्रदूषण केही गर्न नपाइने भन्ने कुरा सुनिन्थ्यो त ! अनि यो देशको राजधानीभित्र मात्रै हैन कि अधिराज्यभरि पटका ओसारपसार रोक्याजस्तो त लागेन त ! गोढा तीनैक दिनदेखि रातदिन पटका पटकाउन कतै रोकिएको छैन । कानका जाली फुट्ने गरी पट्क्या पट्क्यै छन् ।
पुरानो पुलिसले त पटका ल्याउन सकेन रे ! पैले भित्र्याथ्याे, भित्रियो तर हरेक टोलटोलमा पटकिएका पटकियै छन् तर कतै पनि पुलिस आएर पटकाउन रोक्या कतै देखिन्न त ! भन्ने बेला नयाँ आईजीपी साहेब, नयाँ सरकार सबै शान्ति सुरक्षा मजबुत बनाउन पुलिस परिचालन भएका छन् भन्नुहुन्छ त हामी सर्वसाधारणका अगाडि कानका जाली फुट्ने गरी पटकाउँदा हामी मुकदर्शक भएर बस्ने सिबाय अरू छैन । अब्जेक्सन गरौँ, जेनजीका झोक चले भने मान्छेसहित घरमा आगो लगाएर जलाइदेलान् भन्ने डर ! तीन दिन त कष्ट झेलियो, अझ अरू तीन दिन कसरी कष्ट झेल्ने हो ।
के साँच्चै पुलिस प्रशासनले पटका ल्याउन नदिने प्रण गर्थ्यो भने पहिलो कुरा तराईका भारतीय सीमासित जोडिएका हरेक जिल्लाबाट आउने साना–ठूला गाडी वा दुईपाङ्ग्रे साधनसँगै मानिससमेतको चेक गरेर पटका भित्रिन रोक्न सकिँदैनथ्यो र ? सकिन्थ्यो नि ! तर यो देशको पुलिस भन्छ एक गर्छ अनेक । त्यसैले देशमा तस्करी हुनुमा पुलिसकै हात छ भन्नलाई हिच्किचाउनु पर्दैन । बेलाबेलामा देखिने घटनाले लागूऔषध र तस्करीमा पुलिस नै मुछिएका घटनाले र अकस्मात् रोकथाम गर्नुपर्ने काममा नि पुलिस नै जोडिने गरेका हुनाले पुलिसप्रति जनताको भरोसा उठ्या हो ।
राजधानीभित्र भित्रिने तीनवटा राजमार्ग वा सडकमा तस्करीका माल रोक्न निरन्तर पुलिस खटाउने र त्यसको अनुगमनका लागि अर्को एउटा टिम बनाउने हो र देश र जनताका लागि केही गर्नुपर्छ भनेर काममा खटिएका मान्छेले यति सानो मुलुकमा तस्करी र अपराध रोक्न सकिन्न र ? सकिन्छ नि ! तर, यहाँ त कुनै हाकिमका नाममा, कुनै न्यायाधीशका नाममा अनि कुनै राजनीतिज्ञ वा मन्त्रीका नाममा या आफन्तका नाममा निष्पक्ष, निडर र निर्भीक भएर काम नगरिदिनाले कमान्डरले भनेजस्तो गर्ने र औपचारिकता पूरा गर्ने अनि तल्लो तहमा खटिएकाहरूले काम गरेर न पुरस्कार पाउने, न नगरेर दण्ड पाउने ? यस्तो अवस्थामा उनीहरूले नि किन काम गर्ने ?
अनि हाम्रा अभिभावक राज्यले वर्जित गरेको वस्तु त न किनेर ल्याउनु, न बच्चाबच्चीलाई किन्न दिनु नि ! तर, अहँ, अभिभावक आफैँ खोजीखोजी बच्चालाई दिन्छन् र वर्जित वस्तु किनेर ल्याएकोमा आफूलाई गौरवान्वित सम्झिन्छन् । अनि त्यो बच्चासित सँगसँगै लागेर आफू पनि पटका पड्काउँछन् । त्यसपछि त्यो बच्चा पनि रातिको १२–१ बजेसम्म पटका पटकनयर बसिरहन्छ ।
त्यो बच्चाका अभिभावकहरू छोराछोरीको त्यो गैरकानुनी हर्कतलाई भोलिपल्ट छिमेकीका अगाडि वर्णन गर्छन् र आफू र आफ्नो परिवारको शिर उच्च गरेको गौरव गर्दै त्यहाँबाट निस्कन्छन् । तर, त्यो अभिभावकले राज्यले वर्जित गरेको वस्तु ल्याएर पटकाएर छिमेकीको समेत निद हराम गरेको र आफूले पनि गैरकानुनी काम गरेको पटक्कै अनुभूति गर्दैन ।
यस्तो स्वार्थी समाज र देशको निकृष्ट सुरक्षा निकाय कहिलेसम्म रहने होला ? के हामी, जो यस्ता कुराबाट टाढा रहन चाहन्छौँ, त्यस्तो हाम्रो यो पुस्ताको भाग्यमा सुख, शान्ति र अमनचैन लेख्या छैन होला त ! हामीले सधैँभरि दिनहुँ कुनै न कुनै, यो राज्य, उसका निकाय, अनि यो समाजमा बस्ने यस्ता गैरकानुनी हर्कत गर्ने मान्छेहरूका निकृष्ट व्यवहार सहँदै जानुपर्ने हो ।
आखिर पुरानाले कहिल्यै राम्रो गरेनन्, हामीले राम्रो गर्छौँ भन्नेहरूले नि त सर्वसाधारण जनताको शान्तिपूर्वक बाँच्न पाउने हक त संरक्षण गर्न सकेको देखिएन त । ऐले त समाज झन्झन् भाँडिँदै गएको पो देख्छु त म त ! जेनजीका नाममा जे पनि गर्न पाइन्छ भन्ने घटना दैनिक दोहोरिनु, मान्यजनप्रति सम्मान र सानाप्रति मायाको भाव हराउँदै जानुजस्ता विकृतिले पनि समाज थिलथिलो पर्दै गइरहेको छ ।
हेरौँ, समाजको यो रूप कहिलेसम्म रहने हो । सुधार गर्नेले सोचेछन् भने सुध्रिँदै जाला, हैन भने अझै अगाडि के–के देख्नुपर्ने हो, देख्दै जानुपर्ने बाध्यतासिवाय हामीसित केही छैन ।




प्रतिक्रिया राख्नुहोस्