एआईसीयूमा बिजुली बत्ती खसेर शिशु घाइते भएपछि अस्तताल तनावग्रस्त
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा एनआईसीयूमा राखिएका एक नवजात शिशु घाइते भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।
आइतबार साँझ एनआईसीयूमा विद्युत् सर्ट भई एलईडी लाइट खसेर नवजात शिशु घाइते भएपछि आफन्तले अस्पतालका चिकित्सकमाथि हातपात गर्नुका साथै तोडफोड गरेका छन् ।
समाचार अनुसार आक्रोशित आफन्तले एनआईसीयूमै पुगेर निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप साहमाथि हातपात गर्दै अस्पताल परिसरमा प्रदर्शन गर्नुका साथै अस्पताल परिसरमा रहेका डस्टबिनमा आगोसमेत लगाएका छन् ।
एनआईसीयूमा घाइते भएका रुपनी गाउँपालिकाकी रेखा यादवका शिशुलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
हातपातपछि चिकित्सकहरूले पनि एनआईसीयू र आकस्मिक कक्षको सेवा ठप्प पारेका छन् । चिकित्सकले हातपात गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरिरहेका छन् ।
एनआईसीयूमा उपचाररत रहेका अन्य तीन जना नवजात शिशुलाई पनि उपचारका लागि बाहिर लगेको प्रत्यक्षदर्शी राजकुमार यादवले बताउनुभयो ।
चिकित्सक नहुँदा आकस्मिक कक्षका करिब २५ जना बिरामी उपचारविहीनको अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले घटनास्थलमा प्रहरी खटाइएको र थप बुझ्ने कार्य भइरहेको बताउनुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्