मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्न : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले आधुनिकताको नाममा नयाँ पुस्ताले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कार बिर्सन नहुने सुझाव दिदै यसलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल संवत् ११४७ को अवसरमा मंगलबार ललितपुरको पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले आधुनिकीकरण र पश्चिमीकरणका नाममा मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सन नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान र पुर्खाबाट प्राप्त संस्कार बिर्सन हुँदैन । ललितपुरको कला, संस्कृति, वास्तुकला, भूगोल र ऐतिहासिक संरचनाले नेपालको पहिचान अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पु¥याएको छ । पुर्खाहरूले जोगाएर राखेको सम्पदा र परम्पराका कारण विदेशी पर्यटकलाई नेपालको ऐतिहासिक तथा सांस्कृतिक वैभव देखाउन सम्भव भएको हो ।”
उहाँले पाटनसँग आफ्नो सामाजिक यात्राको विशेष सम्बन्ध रहेको उल्लेख गर्दै ‘इनफ इज इनफ’ आन्दोलनका क्रममा यही ठाउँमा अनशन बसेको स्मरण गर्नुभयो ।
गृहमन्त्री गुरुङले नेवार समुदायका जात्रा, पर्व र सामूहिक परम्पराले सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले परिवार र संस्कारले ज्येष्ठ नागरिक तथा अग्रजलाई सम्मान गर्न सिकाएको बताउनुभयो । बाल्यकालमा घरमा नेवारी भाषा बोलिने गरेको स्मरण गर्दै उहाँले अहिले भाषा बोल्न बिर्सिए पनि आफ्नो सांस्कृतिक पहिचान र पारिवारिक संस्कारप्रति गर्व रहेको बताउनुभयो । नेवार समुदायले कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा गरेको प्रयास प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
गृहमन्त्री गुरुङले नेपाली सांस्कृतिक अभ्यासलाई सबै जातजाति र समुदायले आ–आफ्नो ठाउँबाट संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जतिसुकै आधुनिक वा पश्चिमी जीवनशैली अपनाए पनि आफ्नो धर्म, संस्कृति, परम्परा र संस्कारलाई बिर्सन नहुने बताउनुभयो ।
अग्रज पुस्ताले नयाँ पुस्तालाई संस्कार सिकाएजस्तै अहिलेको पुस्ताले पनि भावी पुस्तालाई केही न केही सांस्कृतिक विरासत हस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
तिहार र दीपावलीको परम्परागत उत्सव मनाउने वातावरण क्रमशः साँघुरिँदै गएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले सुरक्षा व्यवस्थाका कारण सांस्कृतिक गतिविधि सीमित हुन नहुने बताउनुभयो ।
तिहारका अवसरमा घरघरमा गएर देउसी–भैलो खेल्ने र सामूहिक रूपमा रमाइलो गर्ने परम्परा कमजोर हुँदै गएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सुरक्षा प्रदान गर्ने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै २४ सै घण्टा सांस्कृतिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सक्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले नेपाल संवत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्दै देश र समाजका लागि अझ राम्रो काम गर्न सक्ने अवसर तथा अग्रजहरूको आशीर्वाद प्राप्त होस् भनी कामनासमेत गर्नुभयो । (रासस)




प्रतिक्रिया राख्नुहोस्