दीपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारीमा राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाज सामू जितको लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनायो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकीय पारी खले भने आरिफ शेखले १६ रन बनाए । आठ रनमा चार विकेट गुमाएको सुदूरपश्चिमको लागि यी दुईले पाँचौं विकेटको लागि ५८ रनको साझेदारी गरेका थिए ।
त्यस्तै थारिन्दु रत्ननायेकेले २६ रनमा अविजित रहनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । दीपेन्द्र र थारिन्दुले छैटौं विकेटको लागि ५४ रनको साझेदारी गर्दै टोलीको इनिङ्ग उकासेका थिए । काठमाण्डुको लागि जहानदाद खानले तीन विकेट लिए भने सन्तोष यादवको भागमा दुई विकेट लिए रह्यो ।
आजको खेलमा जित हात पार्ने टोली प्लेअफमा पुग्नेछ छ । सुदूरपश्चिम छ खेलमा आठ अंक जोड्दै तेस्रो स्थानमा छ भने पाँच खेलमा आठ अंक जोडेको काठमाण्डु दोस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्