जासुसी उपग्रहले पेन्टागन र ह्वाइट हाउसको तस्वीर लिएको दावी
अन्तरीक्षमा पहिलोपटक जासुसी उपग्रह स्थापित गरेको उत्तर कोरियाले अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र राष्ट्रपति भवन ह्वाइट हाउसको तस्वीर लिएको दावी गरेको छ ।
उत्तर कोरियाको सत्तारुढ वर्कस पार्टीको मुखपत्र रोदोंग सिन्मुनले मंगलबार त्यसबारेको जानकारी नेता जङ उनलाई दिएको जनाए पनि तस्वीर भने सार्वजनिक गरेको छैन ।
समाचारमा जनाइए अनुसार स्थानीय समय अनुसार सोमबार राति ११ः३० बजे उपग्रहले ह्वाइट हाउस र पेन्टागनको तस्वीर लिएको हो । त्यस्तै भर्जियिामा रहेको अमेरिकी सैन्य अड्डाको पनि तस्वीर लिएको छ ।
जापानको सरकारी संचारमाध्यम एलएचकेले उपग्रहले अमेरिकाको चार परमाणु उर्जायुक्त विमान वाहक युद्धपोत र एक बेलायती विमानवाहक पोतको पनि तस्वीर लिएको समाचार सार्वजनिक गरेको छ ।
उत्तर कोरियाले २१ नोभेम्बरमा मल्लिग्योङ १ जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । सोही बेलादेखि गुआम र दक्षिण कोरियामा रहेका अमेरिकी सैन्य अड्डाको तस्वीर लिएको बताइएको छ ।
उपग्रहले सामरिक महत्वका क्षेत्रहरुको तस्वीर लिएको दावी गरिए पनि त्यसलाई सार्वजनिक गरिएको छैन । उत्तर कोरियाले अन्तरीक्षमा स्थापित उपग्रहले आउँदो शुक्रबारदेखि आधिकारिक मिसन सुरु गर्ने बताएको छ ।




प्रतिक्रिया राख्नुहोस्