हरेक तीन सेकेन्डमा एकजनालाई पक्षघातको सम्भावना
विश्वमा हरेक चारजनामा एक जनालाई र तीन सेकेन्डमा एक जनालाई पक्षघातको सम्भावना रहेकाले नेपालमा मस्तिष्कघातको अध्ययन अनुसन्धानका विषयमा गम्भीर बन्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
नेपाल मस्तिष्कघात सङ्घद्वारा शुक्रबार आयोजित ‘मस्तिष्कघातको वर्तमान अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदम’ सम्बन्धी कार्यशालामा सहभागीले अनसन्धान त्यसका निष्कर्षको कार्यान्वयनमा जोड दिएका हुन् ।
सङ्घका निवर्तमान अध्यक्ष डा राजु पौडेलले मस्तिष्कघात हुन नदिने उपाय, भइहालेमा समयमै उपचार र उपचारपछिको अपनाउनुपर्ने सावधानीलगायत विषयमा छलफल भएको बताउनुभयो ।
“समयको परिवर्तनसँगै परम्परागत उपचार विधिलाई कसरी आधुनिकतर्फ लैजान सकिन्छ, नेपालका सन्दर्भमा यसको उपचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे कार्यशालामा छलफल भएको छ ।”
उहाँले भन्नुभयो, “सङ्घले नेपालमा मस्तिष्कघातको उपचारबारे निर्देशिका तयार गरी सरकारलाई बुझाइसकेको छ । त्यसको कार्यान्वयनका विषयमा पनि छलफल भएको छ ।”
नेपालमा प्रत्येक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको तथ्याङ्क छ । सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने र १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको हो ।
एक जटिल शारीरिक अवस्थाका रूपमा रहेको मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै ‘मस्तिष्कघात’ भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्ने चिकित्सकले बताएका छन् ।
वरिष्ठ न्युरोलोजिष्ट डा लेखजङ्ग थापाले नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल मस्तिष्कघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम गरिँदै आएको बताउनुभयो ।
सङ्घले हालै विश्वका विभिन्न देशका पाँच सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा ‘हिमालय अन्तरराष्ट्रिय मस्तिष्कघात सम्मेलन’ आयोजना गरिसकेको उहाँले बताउनुभयो ।
मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने सहभागीले बताएका छन् । विश्वमा हरेक चार जनामा एक जनालाई र तीन सेकेन्डमा एक जनालाई पक्षघातको सम्भावना हुने भएकाले यसबाट सजग हुनुपर्ने बताइएको छ ।





प्रतिक्रिया राख्नुहोस्