न्यायालयभित्र क्यान्सर छ, यसको उपचार कुखुरा मन्साएर हुँदैन : ओली
कानुन व्यवसायीहरुको आन्दोलन २० प्रतिशत मात्रै भएको र यसलाई शतप्रतिशत बनाउनुपर्ने
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबिरुद्ध कानुन व्यवसायीहरुको आन्दोलन २० प्रतिशत मात्रै भएको र यसलाई शतप्रतिशत बनाउनुपर्ने सुझाव दिनुभएको छ ।

नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको कुराकानीमा ओलीले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताउँदै सो धारणा राख्नुभएको हो ।
कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग मागेपछि प्रतिउत्तरमा राजीनामा वा महाभियोग न्यायलय सुधारको बाटो नभएको उहाँले भन्नुभयो, कानुन व्यवसायीको आन्दोलन अलि आंशिक भयो, तपाईंहरुले २० प्रतिशत उठाउनुभयो, शतप्रतिशत बनाएर अगाडि बढौं ।
ओलीले भन्नुभयो, तपाईंहरुको कुरा थुप्रै जायज छ । तर (प्रधानन्यायाधीशको राजीनामा) प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।’
पूर्वप्रधानमन्त्री ओलीले क्यान्सरको उपचार कुखुरा मन्साएर नहुने टिप्पणी गदै न्यायालय अहिले स्वच्छ र निष्पक्ष दुवै नभएको जिकिर गर्नुभयो । ओलीले कानुन व्यवसायीलाई भन्नुभयो यहाँहरुले स्वच्छताको त कुरा उठाउनुभयो निष्पक्षताको प्रश्न उठेन कि जस्तो लाग्यो ।
प्रतिक्रिया राख्नुहोस्