राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितको लागि एक सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३९ रन बनाएको हो । जनकपुरको लागि जिमी नीसमले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए भने शुभ कंसाकारले २४ बलमा ४ चौकाको मद्दतमा २६ रन बनाए ।
त्यस्तै लहिरु मिलान्था र हार्ष ठाकरले समान १२-१२ रन जोड्दा आसिफ शेख र अरनिको यादवले समान ११-११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सैफ जेबले दुई विकेट लिँदा स्कट कुगलाइन र अभिनाष बोहोराको भागमा समान एक-एक विकेट रह्यो ।
यो खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।
जनकपुर बोल्ट्सको प्लेइङ–११ मा आसिफ शेखसहित आकाश त्रिपाठी, लाहिरु मिलान्था (विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, शेर मल्ल, अरनिको यादव, किशोर महतो र ललित राजवंशी छन् ।
सुदूरपश्चिम रोयल्सको प्लेइङ–११मा दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह, विनोद भण्डारी (विकेटकिपर), ब्रेन्डन मक्मेलन, सैफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगलाइन , नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर छन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।




प्रतिक्रिया राख्नुहोस्