जन सरोकार

संरक्षणमा ढिलाईमा नेपाल एकीकरणको उद्गमस्थलको इतिहास मेटिने डर

– दीपक श्रेष्ठ

नेपाल एकीकरणको उद्गमस्थलका रूपमा परिचित ऐतिहासिक लिगलिगकोट दरबारको संरचना भत्किएको वर्षौ भयो । करीब २८ रोपनी क्षेत्रफलमा फैलिएको लिगलिगकोटको मूल दरबार मात्र होइन, दरबार परिसरभित्रका अधिकांश भौतिक, पुरातात्विक तथा ऐतिहासिक महत्वका संरचना जीर्ण छन् । दरबार परिसरभित्रको मूल दरबारको पर्खालको थोरै जग मात्र भत्किन बाँकी छ । त्यसबाहेकका गढी, गढी सुरक्षाका लागि निर्माण गरिएका खाइ (सुरुङ), उपासे घरलगायत सबै संरचना भत्किएका छन् ।

द्रव्य शाह राजमार्गको ठाँटी पोखरी–आँपपीपल सडकखण्डमा पर्ने बिजुली डाँडाबाट करीब पाँच सय मिटर उकालो चढेपछि लिगलिगकोटको मूल गढीमा पुगिन्छ । त्यहाँ पर्खालजस्तो देखिने करीब पाँच सय पुरानो वर्ष ऐतिहासिक दरबार छ । पालुङटार नगरपालिका–२ स्थित आँपपीपलमा पर्ने लिगलिगकोट दौड जितेर राजा छान्ने परम्परा बोकेको ऐतिहासिकस्थल पनि हो । वर्तमान नेपाल एकीकरणका अभियन्ता लमजुङका राजा यशोब्रह्मा शाहाका कान्छा छोरा द्रव्य शाह विसं १६१५ मा दौड जितेर लिगलिगकोटको राजा बनेपछि त्यहीँबाट नै वर्तमान नेपाल एकीकरण प्रारम्भ भएको मानिन्छ । लिगलिगकोट दरबारको पुनःनिर्माण र संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिकस्थलको अध्ययन र अवलोकनका लागि त्यहाँ पुग्ने पर्यटक जीर्ण बनेको भौतिक संरचना मात्र हेरेर फर्कनुपर्ने बाध्यता रहेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर राना बताउनुहुन्छ ।

सयौँ वर्षअघि निर्मित दरबारको भग्नावशेष मात्र बाँकी छ । ऐतिहासिक ठाउँको संरक्षणमा स्थानीय एकजुट भए तापनि पर्याप्त बजेटको अभावमा पुनःनिर्माण, जीर्णोद्धार र संरक्षणको काम अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ । “विसं १६१६ भदौ २५ गतेदेखि तत्कालीन राजा द्रव्य शाहले माझकोट (हालको गोरखा दरबार) बाट राजकाज शुरु गरेपछि लिगलिगकोट दरबारको संरक्षणमा कसैको ध्यान पुगेको देखिँदैन”, उहाँले भन्नुभयो, “सङ्घीय संरचनापछि पछिल्लो समय भने सङ्घ, प्रदेश र स्थानीय सरकारले बल्ल चासो दिन थालेका छन् ।” बजेटको अभावमा लिगलिगकोट दरबारको परिसरमा रहेका मठमन्दिरको संरक्षण तथा दरबार क्षेत्रको घेराबार लगाउनसमेत नसकिएको अध्यक्ष राना बताउनुहुन्छ ।

“बडादशैँमा नौ दिनसम्म पुजारी बस्नुपर्ने उपासे घर पनि जीर्ण छ”, रानाले भन्नुभयो, “अन्य भौतिक संरचनाको अवस्था उस्तै छ कालिका मन्दिरमा छानासमेत छैन ।” बडादशैँमा पुजारी जीर्ण भएकोे उपासे घरमा बसेर कालिका भगवतीको उपसना गर्नुपर्ने बाध्यता रहँदै आएको उहाँ बताउनुहुन्छ । दरबार परिसरभित्र मूल गढीसहित पाँचवटा ऐतिहासिक गढी छन् । “ठूलो गढी, बैठक भवन, सुरक्षा हेर्न दुईवटा भवन, सूचना प्रवाह गढीलगायतको अवस्था उस्तै छ”, अध्यक्ष रानाले भन्नुभयो, “संरक्षणको अभावमा सबै संरचना लोप हुने अवस्थामा पुगेका छन् ।”

दरबार परिसरभित्र मूल दरबारदेखि करीब २५० मिटर दूरीमा रहेका गढीलाई मूल गढी, ठूलो गढी, मसिनो गढी, चारपाटे गढी, दर्खे गढी नामले चिनिन्छ । लिगलिगकोटको मूल गढी भाइ भारदारहरूको बैठकका लागि प्रयोग हुने गरेको पाइन्छ । ठूलो गढी पश्चिमतर्फबाट हुनसक्ने शत्रुको आक्रमणबाट जोगाउने, पूर्व तथा उत्तरतर्फको सुरक्षा हेर्ने काम चारपाटे गढी, दक्षिण पश्चिमको सुरक्षा हेर्ने काम दर्खे गढीबाट हुने गर्दथ्यो । गढीको सुरक्षाका लागि दरबार परिसमा बनाइएका खाइ (खाडल) पनि पुरिएको अवस्थामा रहेको उहाँ बताउनुहुन्छ । आक्रमणका लागि शत्रु पस्ने प्रयास गरे खाइमा खसेर निस्कन नसकोस् भनेर निर्माण गरिएको पाइन्छ ।

विसं १६०४ देखि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको शुरुआत भएको मानिन्छ । विसं १६१५ मा द्रव्य शाहले दौड जितेर राजा भएपछि लिगलिगमा दौडिएर राजा हुने परम्पराको पनि अन्त्य भयो । लिगलिगकोट दरबारको नाम कसरी रहन गयो भन्ने कुराको यकिन तथ्य नभए पनि यहाँ मगर समुदायको बाहुल्यता रहेकाले मगर भाषाको ‘लिङलिङ’ शब्द अपभ्रंश भएर दरबारको नाम लिगलिगकोट रहन गएको मानिन्छ । नेपालको इतिहासका अध्येताहरू एकपटक आउनैपर्ने स्थानका रूपमा लिलिगकोटको विकास गर्नुपर्छ भन्ने सोचमा पालुङटार नगरपालिका रहेको नगरपालिकाका प्रमुख दीपकबाबु कँडेल बताउनुहुन्छ ।

लिगलिगकोटमा दौडेर राजा हुने पुरानो परम्परालाई बचाइराख्न हरेक वर्ष लिगलिगे दौड प्रतियोगिता हुँदै आएको छ । उक्त दौड प्रतियोगितामा विजयी हुने धावकलाई एक वर्षका लागि लिगलिगे राजा घोषणा गर्ने परम्परा अहिले पनि छ । समुद्र सतहबाट करीब एक हजार १५० मिटर उचाइमा रहेको लिगलिगकोट गोरखा लम्जुङ र तनहुँ जिल्लाको सङ्गमस्थल पनि हो । लिगलिगकोट दरबारबाट तीनवटै जिल्लाका धेरैजसो रमणीय क्षेत्रलाई नजीकबाट नियाँल्न सकिन्छ भने मनोरम हिमशृङ्खलाको दृश्यले त्यहाँ पुग्ने पर्यटकहरू लोभिने गर्दछन् ।

दरबार परिसरका कलात्मक मठमन्दिरको अवस्था उस्तै

लिगकोट दरबारभित्र ऐतिहासिक मात्र नभएर धार्मिक महत्व बोकेका मठमन्दिर पनि थुप्रै छन् । घले राजाका पालामा स्थापित मठमन्दिरसँगै द्रव्य शाह राजा भएपछि पनि स्थापना गरिएका मठमन्दिरले लिगलिगकोटको कलात्मकता झनै बढाइदिएको छ । लिगलिगकोट दरबारको मध्य भागमा लिगलिग कालिका मन्दिर, पूर्वतर्फ भूमे मन्दिर, उत्तरतर्फ चण्डीथान, दक्षिणतर्फ भीमसेन थान, दर्खेदेवी र पश्चिमतर्फ शिव मन्दिर छन् । ती मठमन्दिरहरूको अवस्था पनि उस्तै रहेको लिगलिग विकास अभियानका अध्यक्ष रानाले जानकारी दिनुभयो । परिसरमा कतै मन्दिरमा छाना नभएको त कुनै मन्दिरका भग्नावशेष मात्र बाँकी रहेको उहाँले बताउनुभयो ।

दरबार परिसरभित्रका मन्दिरहरूमा अहिले पनि निरन्तररूपमा परम्परानुसार नै नियमित पूजाआजा गर्ने गरिएको उहाँ बताउनुहुन्छ । “दशैँमा विशेष पूजा गर्ने प्रचलन अहिले पनि छ, दरबारभित्रका मठमन्दिरमा हरेक दिन परियार थरका व्यक्तिले कर्नाल, नगरा, रासा बजाएर बर्सेनी पूजा गरिन्छ”, उहाँले भन्नुभयो, “यसअघि लिगलिगकोट विकास अभियानले उहाँहरूलाई पारिश्रमिक दिने गरेको भए पनि अहिले भने पालुङटार नगरपालिकाले पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।”

विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ

पछिल्लो पटक लिगलिगकोटको विकासका लागि बजेट विनियोजन नभएको भने होइन । तर विनियोजन भएका बजेटसमेत समयमा कार्यान्वयन नहुँदा दरबार पुनःनिर्माण र जीर्णोद्धारमा ढिलाइ हँुदै आएको छ । गण्डकी प्रदेश सरकारले लिगलिगकोटमा ऐतिहासिक सङ्ग्रहालय निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५÷७६ मा रु एक करोड बजेट विनियोेजन गरेको भएता पनि काम शुरु नै हुन सकेन । जग्गा विवादका कारण समयमा काम हुन नसकेको पालुङटार नगरपालिकाका प्रमुख कँडेल स्वीकार्नुहुन्छ । गत आर्थिक वर्षमा लिगलिगकोटको विकासका लागि नगरपालिकाले विनियोजन गरेको रु ५० लाख पनि खर्च हुन नसकेको नगरप्रमुख कँडेल बताउनुहुन्छ ।

चालू आवमा समेत नगरपालिकाले रु ६० लाख लिगलिगकोटको विकासका लागि विनियोजन गरेको नगरप्रमुख कँडेलले जानकारी दिनुभयो । “लिगलिगकोट आफँैमा एउटा भ्यू टावर भएका कारण त्यहाँबाट मनोरम दृश्यावलोकनका लागि दुरबिन राख्ने योजना नगरपालिका रहेको छ”, नगरप्रमुख कँडेलले भन्नुभयो, “बिजुली डाँडादेखि लिगलिगसम्म पुग्ने सिँढी निर्माणमा समेत गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट काम भइरहेको छ ।” त्यस्तै दरबारको पुनःनिर्माणका लागिसमेत पुरातत्व विभागमार्फत काम गर्न आफूहरू लागिपरेको उहाँको भनाइ छ ।

पर्यटकको आकर्षणका लागि पूर्वाधार निर्माण जोड

लिगलिगकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि अहिले तीनैवटै तहका सरकारले पूर्वाधार विकासको कार्यलाई जोड दिएका छन् । नगरपालिकाले स्थानीय केही सङ्घसंस्थाको सहयोगमा पर्यटक लक्षित गरी त्यहाँ आउने पर्यटकहरूलाई स्थानीय उत्पादनको स्वाद चाख्न पाउने र बास बस्नका लागि होमस्टे सञ्चालनमा ल्याएको छ । त्यस्तै गण्डकी प्रदेशले ऐतिहासिक सङ्ग्रहालय निर्माणका लागि बजेट विनियोजन गरेको नगरप्रमुख कँडेलले जानकारी दिनुभयो । त्यस्तै लिगलिगकोट दरबार परिसर नजीकै नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखिएको उहाँले बताउनुभयो । “करीब ६० फिट अग्लो फलामको पोलमा ४० फिट ठूलो राष्ट्रिय झण्डा राखिएको छ”, प्रमुख कँडेलले भन्नुभयो, “यो झण्डाले लिगलिगकोटको शोभा मात्र बढाएको छैन, यसले राष्ट्रिय एकताको सन्देश पनि दिएको छ ।” इतिहास बचाइराख्न हरेक वर्ष दौड प्रतियोगितामार्फत राजा छान्ने परम्परालाई पनि निरन्तरता दिँदै आएको बताउँदै उहाँले लिगलिगकोटलाई जोडेर पालुङटार नगरपालिकालाई खेल पर्यटनका रूपमा विकास गर्न लागिपरेको जानकारी दिनुभयो । त्यस्तै लिगलिगकोटसम्म पुग्न फुट ट्रेल निर्माणको काम पनि भइरहेको उहाँको भनाइ छ ।

पर्यटकको आकर्षण उस्तै

लिगलिगकोटको पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु भएसँगै त्यहाँ आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । ऐतिहासिकस्थलका रूपमा चिनिने लिगलिगकोटमा अहिले दिनानुदिन घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको स्थानीयवासी सरिता गान्धारी बताउनुहुन्छ । प्रत्येक हप्ता शुक्रबार र शनिबार धेरै पर्यटक आउने गरेको बताउँदै उहाँले शनिबारको दिन त दरबार हेर्न एक हजारभन्दा बढी नै आउने गरेको जानकारी दिनुभयो । पर्यटक बढेपछि यहाँका स्थानीयवासीको दैनिकी फेरिन थालेको छ । त्यसैले पनि लिगलिगकोट दरबार परिसरको उचित संरक्षण नहँुदा ऐतिहासिक सम्पदाको लोप हुन्छ कि भन्ने चिन्ता स्थानीयवासीमा बढेको देखिएको छ ।

ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सके लिगलिगकोट मात्र नभई यसले गोरखाको इतिहासलाई नै विश्वसामु चिनाउन मद्दत पुग्ने बताउँदै गान्धारीले राज्यले उचित ध्यान नदिँदा यहाँका ऐतिहासिक महत्व बोकेका पुरातात्विक वस्तुहरूको संरक्षणमा चुनौती कायमै रहेको बताउनुभयो । राज्यले लिगलिगकोट क्षेत्रको व्यापक प्रचारप्रसार गर्न सके यहाँ बर्सेनी लाखाँै पर्यटक भित्र्याउन सक्ने प्रचुर सम्भावना रहेको स्थानीयवासीले बताए । दरबार परिसरका सबै संरचना भग्नावशेष भएको र त्यहाँ रहेको बहुमूल्य वस्तु चोरी हुने तथा हराउन सक्ने भएकाले तत्कालै दरबारको सुरक्षा घेराबार आवश्यक भएकाले पुरातत्व वा नेपाल सरकारका सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

सम्बन्धित खबर

Back to top button