जन सरोकार

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर, ७ देखि १० वर्ष सजाय हुन सक्ने 

जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिएको उक्त मुद्दामा शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो । सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि जवाफी बहस भएको थियो ।

मुद्दाको सुनुवाइका क्रममा पीडित ‘गौशाला २६’ (परिवर्तित नाम) को उमेरबारे पनि निकै विवाद भएको थियो । लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ ।

त्यस्तै अदालतले सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरी साबालिग रहेको ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार फैसला सुनाउँदै जाहेरवाली  साबालिग रहेपनि बलात्कार भएको ठहर गरेको हो । न्यायाधीश ढकालको इजलासले मिसिलसाथ प्राप्त कागजातको आधारमा जाहेरवाली ‘गौशाला २६’ को जन्म २०६१ असार १८ गते भएको ठहर गरेको हो । उक्त मितिलाई जन्मेको दिन मान्दा वारदात भएको मिति २०७९ भदौ ५ गते जाहेरवालीको उमेर १८ वर्ष २ महिना पुगेको ठहर्छ ।

यस्तै जिल्ला अदालतले पीडित ‘गौशाला २६’ लाई क्रिकेटर सन्दीप लामिछानेले नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको देखिएको ठहर गरेको छ । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशाला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।

गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.