गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौँमा भएको ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरिएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख तथा सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गर्नुभयो ।
उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षलगायतलाई गरी कूल रु ४७ लाख ६० हजार पुरस्कार दिने निर्णय गरेको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा यही भदौ २ गते सहभागी खेलाडी, प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो ।
“हाम्रा खेलाडी छोरीलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ । खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ । तपाईँहरु जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस् ।”

आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
उहाँले दशरथ रङ्गशालामा खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रङ्गशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला भलिबल खेललाई आजको अवस्थामा ल्याउन योगदान दिनेहरुलाई धन्यवाद दिँदै सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिकरुपमा व्यवस्था हुनुपर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव सुमनराज अर्यालले सीमित स्रोत साधनबीच नेपाली खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनप्रति आभार व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदलाई प्राथमिकता दिँदै प्रधानमन्त्री ओलीले लिनुभएको अग्रसरता प्रशंसनीय रहेको बताउनुभयो ।
नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले भलिबलको विकासका लागि के गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्री ओलीको प्रतिबद्धताबमोजिम कभर्ड हल बन्ने विश्वास व्यक्त गर्नुभयो । पुरस्कृत कप्तान शाहीले पुरस्कारबाट प्रोत्साहन मिलेको र आगामी खेलमा राम्रो प्रदर्शन गरी राष्ट्रलाई चिनाउने सङ्कल्प गर्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्