कर्पोरेट/पर्यटन

पर्यटकहरूको रोजाइमा कञ्चनजङ्घा हिमाल (भिडियोसहित)

ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । विशेष गरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकहरूको संख्या क्रमशः बढ्दै गएको छ ।

हालै मात्र, पाँच जना विदेशी नागरिकसहित दश जनाको टोलीले सफलतापूर्वक कञ्चनजङ्घा हिमाल आरोहण गरेका छन् । उहाँहरुले सेभेन समिट ट्रेक्समार्फत आरोहण सम्पन्न गरेका हुन् । सफल आरोहण गर्नेमा बेलायत, इरान, कोसोभोका नागरिक र नेपाली शेर्पा समावेश छन् ।

इलाइट एक्सपिडिसन, काठमाडौंका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार थप ६३ जना आरोही र तिनका गाइड कञ्चनजङ्घा हिमाल आरोहणका लागि हाल क्षेत्रमै छन् ।

कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ पनि विदेशी पर्यटकहरूको आकर्षण बढ्दो छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को याम्फुदिनस्थित कार्यालयका पर्यटन सहायक सूर्यमान राईका अनुसार, गत चैतयता मात्रै १६ जना अमेरिकी, १५ जना भारतीय, पाँच जना रुसका नागरिक, चार जना इजरायली, दुई बेलायती र दुई नेदरल्याण्डका पर्यटक गरी जम्मा ४४ जना विदेशी पर्यटकले दक्षिण आधार शिविर भ्रमण गरेका छन् ।

उता कञ्चनजङ्घा उत्तरी आधार शिविरतर्फ पनि पर्यटकको उपस्थिति उल्लेखनीय रहेको छ । घुन्सा पर्यटन चेकपोष्टका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाका अनुसार, हालसम्म ३६० जना विदेशी पर्यटकले उत्तरी आधार शिविरको भ्रमण गरिसकेका छन् ।

यसरी कञ्चनजङ्घा क्षेत्र विदेशी पर्यटकहरूका लागि मात्र नभई, आन्तरिक पर्यटकहरूको पनि रोजाइमा पर्न थालेको छ । तर आन्तरिक पर्यटकको विस्तृत तथ्यांक भने कार्यालयहरूमा सूचीकृत गरिएको छैन ।

कञ्चनजङ्घा हिमाल समुद्री सतहबाट आठ हजार ५८६ मिटरको उचाइमा अवस्थित छ । यस हिमालको आरोहण तथा अवलोकनका लागि मुख्यतः दुईवटा आधार शिविर दक्षिण आधार शिविर र उत्तरी आधार शिविर छन् ।

उत्तरी आधार शिविर (ओक्ताङ)
उत्तरी मार्गबाट कञ्चनजङ्घा आधार शिविर पुग्नका लागि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट जापनटारसम्म करिब चार घण्टा सवारी यात्रा गर्नुपर्छ । त्यसपछि जापनटारदेखि तीन दिनको ट्रेकिङपछि घुन्सा गाउँ पुगिन्छ ।

घुन्सा गाउँबाट थप तीन दिन पैदलयात्रा गरेपछि पाँच हजार दुई सय मिटरको उचाइमा अवस्थित ओक्ताङ पुग्न सकिन्छ, जुन कञ्चनजङ्घा हिमालको उत्तरी क्षेत्रको अन्तिम आधार शिविर हो । घुन्सा मार्गमा आधारभूत सुविधायुक्त होटल, होमस्टे, पर्यटक विश्रामस्थलहरू सञ्चालनमा छन्, जसले पर्यटकको बसोबासलाई सहज बनाएको छ ।

दक्षिण आधार शिविर (पाङपेमा)
दक्षिणतर्फको मार्ग प्रयोग गर्दा फुङ्लिङ बजारबाट सवारी साधनमार्फत झण्डै सात घण्टामा याम्फुदिन गाउँ पुग्न सकिन्छ । त्यसपछि तीन दिनको ट्रेकिङ गरेपछि ४,८०० मिटरको उचाइमा रहेको पाङपेमा पुगिन्छ, जुन कञ्चनजङ्घाको दक्षिण क्षेत्रको अन्तिम आधार शिविर हो । यस मार्गमा पनि स्थानीय बासस्थान, होमस्टे र गाइडहरूको व्यवस्था रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भनाइ छ ।

हिमाल आरोहणको प्रक्रिया र चुनौती
हिमाल आरोहणकर्ताहरूले आधार शिविरमा केही दिन शारीरिक अभ्यस्तता गरी त्यसपछि क्रमशः क्याम्प १, २, ३ हुँदै शिखरतर्फ यात्रा गर्छन् । आरोहण सफल बनाउन गाइड, उच्च पहाडी कामदार, चिकित्सक र व्यवस्थापन समूहको सहभागिता अपरिहार्य मानिन्छ । कञ्चनजङ्घा हिमाल प्राविधिक हिसाबले नेपालका अन्य ८,००० मिटर उचाइ भएका हिमालहरूमध्ये एकदमै कठिन मानिन्छ ।

बदलिँदो मौसम, पातलो अक्सिजन, हिमपहिरोको जोखिम लगायतले यसलाई चुनौतीपूर्ण बनाउँछन् । त्यसैले, यहाँको आरोहण सामान्यभन्दा लामो समय लिने र उच्च स्तरको तयारी आवश्यक पर्ने बताइन्छ । गत साता मात्र हिमाल आरोहण क्रममा एक फ्रान्सा नागरिएको दुःखद मृत्य हुनुभयो ।

पर्यटन प्रवद्र्धन र सम्भावना
नेपालको पूर्वी क्षेत्रस्थित कञ्चनजङ्घा हिमाल नेपालको गौरव मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि पर्यटन सम्भावनाको धनी क्षेत्र हो। अवस्थित प्राकृतिक सौन्दर्य, जैविक विविधता, र सांस्कृतिक सम्पदाले यस क्षेत्रमा अझ पर्यटन आकर्षण बढाउने सम्भावना देखिएको छ ।

यस क्षेत्रमा सञ्चार, र पूर्वाधार थप व्यवस्थित गरिएमा कञ्चनजङ्घा क्षेत्र साहसिक पर्यटक तथा ट्रेकिङ गन्तव्य बन्न सक्छ । ट्रेकिङ मार्गहरूमा नयाँ होमस्टे, बाटोमा संकेत चिन्हहरू, प्राथमिक उपचार केन्द्र, तथा आपतकालीन उद्धार सेवाहरू विस्तार भएमा अझ पर्यटकहरु भ्रमण गर्न आउँने छन् ।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन विकाससँगै स्थानीय समुदायको सहभागिता उल्लेखनीय छ । होमस्टे सञ्चालन, गाइड, पोर्टर, खच्चड सेवा, हस्तकलाका सामाग्री बिक्रीजस्ता माध्यमबाट समुदायले राम्रो आम्दानी गरिरहेका छन् । (रासस).

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.