राजनीति

ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश

सहकारी ठगीमा बागलुङ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिइएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले पनि थुनामा पठाउने आदेश दिएको ।

नेकपा माओवादीबाट टिकट नपाएपछि रातारात एमाले प्रवेश गरेर टिकट पाएर २०७४ सालमा ढोरपाटन नगरपालिकाको मेयर जितेका नेपालीले २०७९ सालको चुनावमा पनि एमालेबाट दोस्रोपटक मेयर जितेका थिए ।

बागलुङ र कास्कीमा आफैं सहकारी खोलेर दुई अर्ब रुपैयाँभन्दा बढी रकम अपचलनन गरेको आरोप लागेका नेपालीलाई सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले थुनामै राख्ने आदेश गरेको हो ।

नेपालीलाई असोज १५ गते बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सहकारी ठगीका सबैभन्दा ठूलो मतियार जीवी राईसंग रहेका नेपालीलाई राईले सूर्यदर्शन सहकारीमा उपाध्यक्षबाट अध्यक्ष बन्न नदिएपछि आफैं सहकारी खोलेका थिए ।

२०६८ सालमा पोखरा सिर्जनाचोक र २०६९ सालमा बागलुङमा आफ्नै नेतृत्वमा सहकारी खोलेका देवकुमारले एकाएक धनाड्यका रुपमा देखा परेका थिए ।

सहकारी संचालनमा ल्याएपछि एकाएक सम्भ्रान्त देखिएका नेपाली हेलिकप्टरमा सवार गर्नेदेखि बागलुङ बजार, बुर्तिबाङ र पोखरामा ठूला ठूलो भवनहरुसमेत टठ्याएका थिए ।

वचत रकम अपचलन गरेको खुलासा भएपछि रकम फिर्ता गर्ने बाचा गरेर मेयर नेपाली ५ जेठ २०८० मा फरार भएका थिए । त्योभन्दा ३ दिन अगाडिमात्र उनले पोखरा महानगरको समन्वयमा सिर्जना चोकको इमेज सहकारी बचतकर्तालाई रकम फिर्ता गर्ने बाचा गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएका कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र बुझाएर सम्पत्तिको रक्षा गर्न आग्रह गर्दै फरार भएका थिए ।

फरार भएको १५ महिनापछि असोज ११ गते नेपालीलाई दिल्लीबाट पक्राउ गरी जहाजमार्फत नेपाल ल्याएर बागलुङ पुर्‍याइएको थियो । नेपालीले बागलुङमा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको थियो ।

पोखरामा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो माग दावी गर्दै २०८० भदौ १२ गते देवकुमारसहित १५ जनालाई विपक्षी बनाएर अभियोग कास्की जिल्ला जिल्ला अदालतमा दर्ता भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.