अख्तियारले नौपटकसम्म पत्र काट्दा जवाफ नदिनुबाटै सबै स्पष्ट हुन्छ : सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा प्रकरणमा गृह नेतृत्वको संलग्नता भएको दावी प्रस्तुत गर्नुभएको छ ।
प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकमा बोल्दै सांसद झाले गृहमन्त्री रमेश लेखके आफूलाई थाहा नभएको भन्ने तर्कप्रति लक्षित गर्दै अध्यागनका कर्मचारी विकृतिका विषयमा थाहा थिएन भने केको मन्त्री भन्दै प्रश्न उठाउनुभयो ।
उहाँले अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ त्यहाँ ध्यान देउ भनेर गृहमन्त्रालयलाई ९/९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो भन्दै जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरूलाई लुकाउनको लागि रातारात किन तानियो भन्ने प्रश्न गर्नुभयो ।
गृहमन्त्रीलाई जानकारी नभएको नभए किन कर्मचारीलाई सरुवा गरिएको भन्ने प्रश्न उठाउँदै यो प्रकरणको सरकारले चित्तबुझ्दो उत्तर नदिएसम्म आफूहरूलाई सैह्य नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो ? अर्को कुरा, कर्मचारीलाई तानिसकेपछि तामेलीमा मन्त्रालयमै राख्न सक्थ्यो, किन दुर्गम पठाइयो ?”
सांसद झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको र आफ्नो संलग्नता लुकाउनको लागि गृह मन्त्रालयले अनुसन्धानमै रहेका कर्मचारीको जिल्ला सरुवा गरेको समेत आरोप लगाउनुभएको हो ।
अध्यागमनको अनियमितता केवल राष्ट्रिय नभई अन्तर्राष्ट्रिय स्तरमै भएको दाबी गर्दै झाले छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल सत्तासंग सहमतिमा गए पनि आफूहरुको आन्दोेलन जारी रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, “छापा र अनलाइनहरुमा पर्याप्त समाचार आइरहेको छ । हरेक दिन यथेष्ट प्रमाणहरू आइसके । यो सबै तपाईंको नेतृत्वमा भएको लुटतन्त्र हो । यो हाम्रो मात्र आवाज हैन । सेटिङ त अन्तर्राष्ट्रिय नै भइसकेको रहेछ । त्यसकारण यसको छानविन गर्नको लागि छानविन समिति र ठगिएकाहरुले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ ।”




प्रतिक्रिया राख्नुहोस्