इरानद्वारा इजरेलमा जबाफी हमला, इरानी शहरमा खुसियाली
शुक्रबार विहानै इजरेलले गरेको हवाई हमलाको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र हमला गरेको छ । इजरेली शहरहरुमा ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्।
इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित स्थान र व्यक्तिहरूमाथि लक्षित गरेर इजरेलले गरेको अभूतपूर्व हवाई आक्रमणको जवाफमा पछिल्लो हमला भएको हो।
उक्त जबाफी हमलामा परेर ४० जनाको इजरेली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
इजरेली सञ्चारमाध्यमहरूले तीनजनाको मृत्यु भएको उल्लेख गरेका छन्। शनिवार सबेरैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्।
संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रवारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन्।
इजरेलमा जबाफी प्रहारहरू गरेपछि तेहरानमा खुसीयाली मनाइएका तस्बिरहरू सार्वजनिक भएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले इजरेलले ‘युद्ध सुरु गरेको’ र आफ्नो देशले जबाफमा ठूलो प्रहार गर्ने बताएका छन्।

इस्लामिक रिभोलुशनरी गार्डस्ले एक विज्ञप्तिमार्फत इरानले इजरेलका दर्जनौं निशानाहरू, सैन्य अखडा र हवाई अड्डाहरूमा हमला गरेको जनाएको छ। इरानले आफ्नो उक्त कारबाहीलाई ‘ट्रु प्रमिस थ्री’ (अनुवादित नाम) नाम दिँदै त्यसबारेका थप विवरण पछि बताइने जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्