प्रधानमन्त्री भेटेर एनआरएनएको प्रतिबद्धता- ‘पुनःनिर्माणमा सघाउँछौं’
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति पुगेका भौतिक पूर्वाधारहरुको पुनःनिर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ ।
बिहिबार एनआरएनए टोलीले प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल तथा भौतिक पूर्वाधार, यातायात तथा मन्त्रीसन्त्री कुलमान घिसिङसँग संयुक्तरुपमा भेटवार्ता गरी सो प्रतिबद्धता जनाएको हो ।
एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठसहितको टोलीले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त ट्राफिक प्रहरीको कन्ट्रोल रुम पुनर्निर्माणमा काम गरिरहेको र थप अरू के गर्ने भन्ने विषयमा छलफल भई रहेको जानकारी दिएका थिए ।
भेटमा प्रधानमन्त्री कार्कीले देश विकासमा एनआरएनहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अहिलेको कठिन परिस्थितिमा नेपालको पुनर्निर्माण मा सघाउन संसार भरिका नेपालीहरू लाई आग्रह गरिन्। उनले नेपाल सरकार संघसंग सहकार्य गर्न तत्पर रहेको पनि बताउनुभयो ।
यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनाहरू ध्वस्त भएको बताउँदै अहिले तत्काल सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गर्ने मेसिन आवश्यक रहेको र त्यसका लागि सहयोग गर्न एनआरएनलाई आग्रह गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले यस विषयमा कार्यसमितिको आगामी बैठकबाट निर्णय गर्ने बताएका थिए ।
छलफलमा एनआरएनका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले सरकारलाई आवश्यक पर्ने कुनै प्रोजेक्ट भए आफू नेतृत्वको एमआईटी फाउन्डेसन सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एनआरएनका पूर्व अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आग्रह गर्दै सामाजिक सुरक्षा कोषको रकम देश विकासमा परिचालन गर्न आग्रह गर्नुभयो ।
उहाँले संसारभरिका एनआरएनहरू नेपालमा हालै भएको धनजनको क्षतिबाट दुखी भएको जनाउँदै पुनर्निर्माणमा हातेमालो गर्न तत्पर रहेको बताउनुभएको थियो ।
एनआरएनकै पूर्व अध्यक्ष आरके शर्माले गैरआवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा कोष र रेमिटेन्सलाई बचतमा रूपान्तरण गर्ने सामूहिक लगानीका विषयहरू उठाउँदै श्रमिक नेपालीहरूको समस्या सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो ।
भेटघाटमा एनआरएनए उच्चस्तरीय समितिका सदस्य सचिवद्वय रबिना थापा तथा जानकी गुरुङ, श्रीमती जमुना घले, युएनडीओका अध्यक्ष सोनाम लामा लगायतको सहभागिता थियो ।




प्रतिक्रिया राख्नुहोस्