संयुक्त अरब इमिरेट्समाा जारी आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकालाई २ सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७१ रन बनाएर अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिएको हो ।
नेपालको सम्मानजनक स्कोरमा उपकप्तान दीपेन्द्र सिं ऐरीले सर्वाधिक ७५ रन बनाए । नेपालको स्कोर उच्च बनाउने क्रममा अलराउण्डर करण केसीले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ४९ रन बनाए ।
दीपेन्द्रको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा यो पाँचौं अद्र्धशतक हो भने केसी अद्र्धशतका बनाउनबाट १ रनले चुक्न पुगे । केसीले स्कटल्याण्डको झल्को दिंदै चौका र छक्का बर्साएका थिए ।
नेपालका लागि आज प्रायः सबै ब्याट्सम्यानले राम्रो पारी खेले । यसअघि असफल हुँदैआएका ओपनर कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए । अर्का ओपनर आसिफ शेख २ रनमा आउट भए भने आरिफ पनि २ रनमै आउट भए ।
गुल्शन झा यसपटक पनि उत्कृष्ट पारी खेल्नबाट चुके । झा ५ रनमा आउट भए भने नन्दन यादव १ र ललित राजवंशी १ रनमा आउट हुँदा सन्दीप लामिछाने ४ रनमा अविजीत रहे ।
टस जितेर पहिले बलिङ गरेको अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २/२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १/१ विकेट लिए ।
जारी शृंखलामा नेपालले खेलेका दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।





प्रतिक्रिया राख्नुहोस्