यूएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी एकदिवसीय शृंखला अन्तर्गत आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल यूएईसँग चार विकेटले पराजित भएको हो ।
अमेरिका, नेपाल र युएई सहभागी शृंखलामा नेपाल आफूले खेलेको सबै चारै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पनि नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।
यता यूएईले भने नेपाललाई दुवै खेलमा पराजित गर्यो भने अमेरिकासँग खेलेको दुवै खेलमा पराजित भयो । युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रन जोडे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३७ रन जोड्दा आसिफ शेखले ३४ र आरिफ शेखले ३० रन बनाए ।
यूएईका लागि ध्रुव पराशर, जुनेद सिद्दिकी र मुहम्मद जवादुल्लाहले समान २-२ विकेट लिए भने जाहिद अलीको भागमा एक विकेट रह्यो । नेपालले प्रस्तुत गरेको २ सय ४० रनको लक्ष्य यूएईले ४९ दशमलव १ ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो ।
यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए भने मुहम्मद वासीमले ७६ रन बनाए । यी दुईले चौथो विकेटका लागि १ सय ४७ रनको शतकीय साझेदारी गरेका थिए ।
नेपालका लागि करण केसीले तीन विकेट लिए भने सन्दीप लामिछाने, ललित राजवंशी र नन्दन यादवको भागमा समान एक-एक विकेट रह्यो ।लिग २ को अंक तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोड्दा शीर्ष स्थानमा छ भने २० खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा रहेको छ । यता यूएई २० खेलमा १० अंक जोड्दा तालिकाको पुछारमा छ ।





प्रतिक्रिया राख्नुहोस्