भदौ २४ को विध्वंश : नौसय ६३ जना पक्राउ, नौसय ३३ जनाबिरुद्ध मुद्दा
गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा २३ गतेको सरकारी दमनलाई प्राथमिकता दिएर २४ गतेको विध्वंश ढाकछोप गरिएको आरोप लागिरहे पनि सो दिन भएको तोडफोड र हिंसात्मक घटनाका सम्बन्धमा प्रहरी सक्रियता व्यापक पाइएको छ ।
भदौ २४ गतेको घटनामा संलग्न रहेका आशंकामा चैत १५ सम्म प्रहरीले ९६३ जनालाई पक्राउ गरेको र देशभर ९३३ वटा मुद्दा दर्ता गरेको छ। यसबीच १९१ जना पुर्पक्षका लागि थुनामा छन् भने ४७४ जना धरौटीमा छुटेका छन्। कुल मुद्दामध्ये काठमाडौँ उपत्यकामा मात्र ३७९ वटा दर्ता भएका छन्।
प्रहरीका अनुसार अधिकांश मुद्दा आपराधिक उपद्रव र आगजनीसँग सम्बन्धित छन् भने २० जनाविरुद्ध ज्यान मुद्दा चलाइएको छ। जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते भएको विध्वंससँग जोडिएका विभिन्न कसुरहरूमा काठमाण्डू उपत्यकामा ३७९ सहित देशभरि ९३३ वटा मुद्दा दर्ता गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार पक्राउ परेकामध्ये झन्डै ७०० जनालाई आपराधिक उपद्रवको कसुरमा मुद्दा लगाइएको छ भने २० जनाविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले भदौ २३ गतेको घटनामा कारबाही गर्न सिफारिस गरेको र भदौ २४ गतेको विध्वंस, आगजनी र तोडफोडबारे अलग्गै छानबिन गर्न सुझाव दिएपछि सरकारले छुट्टै छानबिन समिति बनाउने निर्णय गरेको छ ।
प्राप्त आँकडाअनुसार यसबीचमा आपराधिक उपद्रव शीर्षकमा ८०२ वटा मुद्दा दर्ता भएका छन्। उक्त कसुरमा प्रहरीले ६९१ जनालाई पक्राउ गरेको थियो जसमध्ये २०३ जना अभियुक्त काठमाण्डूमा पक्राउ परेका थिए।
त्यसै गरी कर्तव्य ज्यानमा २० जना अभियुक्त पक्राउ परेकामा चारवटा मुद्दा दर्ता गराइएको छ । उक्त अभियोगमा काठमाण्डूमा तीनवटा मुद्दा दर्ता गरिएको र १८ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। त्यसबाहेक धादिङमा दुई जनालाई पक्राउ गरिएको थियो र उक्त कसुरमा एउटा मुद्दा चलाइएको छ।
त्यसबाहेक हतियार खरखजनामा ३०, अभद्र व्यवहारमा ३३, ज्यान मार्ने उद्योगमा ४, डाँका तथा चोरीमा ३९, कारागार ऐन २०७९ सम्बन्धी कसुरमा २, आगजनी तोडफोडमा ४, भवितव्य ज्यानमा ४, लागुऔषधमा १, विद्युतीय कसुर तथा साइबर अपराधमा १ र आत्महत्या दुरुत्साहनमा १ मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ।
डाँका तथा चोरीमा ७८ जना, हतियार तथा खरखजनामा ६७ जना, अभद्र व्यवहारमा ५९ जना र ज्यान मार्ने उद्योगमा ९ जना पक्राउ परेको प्रहरी तथ्याङ्कले देखाउँछ।
पक्राउ परेकामध्ये २१० जना पुर्पक्षका लागि थुनामा गएकोमा १९ जना छुटेको र १९१ जना अझै थुनामा रहेको नेपाल प्रहरीको आँकडा छ। त्यसबाहेक ४७४ जना धरौटीमा रिहा भएका थिए भने २२ जना साधारण तारिखमा र २३९ जना हाजिरी जमानीमा छुटेको प्रहरीले उल्लेख गरेको छ।
प्रहरीका अनुसार काठमाण्डू उपत्यकामा जम्मा ३७९ वटा मुद्दा दर्ता भएका छन्। काठमाण्डू, ललितपुर र भक्तपुरमा ४२० जनालाई पक्राउ गरिएको छछ । काठमाण्डूमा आपराधिक उपद्रव र कर्तव्य ज्यानबाहेक चोरी, अभद्र व्यवहार, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगमा आरोपितहरू पक्राउ परेका थिए।
हातहतियार खरखजनासम्बन्धी कसुरमा ५१ जना र चोरीमा ४८ जनासहित काठमाण्डूमा ३४७ जना पक्राउ परेका छन् । ललितपुरमा आपराधिक उपद्रव, भवितव्य ज्यान, डाँका, चोरी तथा आपराधिक उपद्रवसमेत र आपराधिक उपद्रव, चोरी तथा सङ्गठित अपराधका ११४ मुद्दा दर्ता भएका छन्। त्यहाँ ३१ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
त्यसबाहेक भक्तपुर जिल्लामा अभद्र व्यवहार, आपराधिक उपद्रव, चोरी र हातहतियार खरखजनासम्बन्धी जम्मा ५६ वटा मुद्दामा ४२ जना पक्राउ परेको नेपाल प्रहरीले जानकारी दिएको छ। उपत्यकाकासहित कुल ३५ जिल्लाहरूमा भदौ २४ गतेसँग सम्बन्धित मुद्दाहरू दर्ता भएको छ ।




प्रतिक्रिया राख्नुहोस्