अर्थ

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको छ ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत रु १९ करोड २४ लाख २२ हजार २७०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु तीन करोड ७४ लाख ९२ हजार २३४, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु २३ लाख २९ हजार ९९० र अन्य प्रशासनिक सेवा शुल्कबापत रु सात लाख ७१ हजार ५२८ राजस्व सङ्कलन भएको छ ।”

यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैत महिनामा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख नेपालीले बताउनुभयो । यो अभियानअन्तर्गत ‘बिलबुक’ नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो ।

“प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्त–दुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो सोहीअनुसार राजस्व सङ्कलन पनि वृद्धि भयो”, उहाँले भन्नुभयो, “यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर सङ्कलनको लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौँ ।”

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताउनुभयो । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको तिवारीले जनकारी दिनुभयो ।

“सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।”

गत आव २०८१/८२ को यही अवधिमा यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.