सरकारको गतिविधिप्रति नेकपाको आपत्ति
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारका पछिल्ला निर्णयप्रति आपत्ति जनाएको छ । पार्टीले सरकार जनजीवन सहज बनाउनेतिर नलागी सुशासनका नाममा अमानवीय व्यवहारमा उत्रेको आरोप समेत लगाएको छ ।
पार्टीले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने र विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएको हो ।
पार्टीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो कदमलाई “अमानवीय” भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ । पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लंघन हुने उल्लेख गरिएको छ ।
वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ । तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ । लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन ।”





प्रतिक्रिया राख्नुहोस्