भारतमा जारी १९औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित हासिल गरेको छ । आइतबार भएको दिनको पहिलो खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै कोलकाताले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
कोलकाताले घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । राजस्थानका लागि वैभब सुर्यवंशीले २८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दौ ४६ रन बनाए भने यशस्वी जैसवालले २९ बलमा ४ चौका र २ छक्का सहित ३९ रन जोडे ।
त्यस्तै शिमरोन हेटमायरले १५ रन जोड्दा कप्तान रियान परागले १२ रन बनाए । कोलकाताका लागि वरुण चक्रवर्तीले र कार्तिक त्यागीले समान तीन-तीन विकेट लिए भने सुनिल नारायणको भागमा दुई विकेट रह्यो । राजस्थानले दिएको १ सय ५६ रनको लक्ष्य कोलकाताले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
कोलकाताको लागि रिंकु सिंहले ३४ बलमा ५ चौका तथा २ छक्का प्रहार गर्दै अविजित रहँदै ५३ रनको अर्धशतकीय पारी खेले भने अनुकुल रोय २९ रनमा अविजित रहे । यस्तै क्यामरुन ग्रिनले २७ रन जोड्दा रोभमन पावलले २३ तथा अंगकृष रघुवंशी र रमनदिप सिंहले समान १०-१० रन बनाए । राजस्थानका लागि रविन्द्र जडेजाले दुई विकेट लिए भने जोफ्रा आर्चर, नान्द्रे बर्गर, रवि बिश्नोई र यश राज पुञ्जाको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै कोलकाता आठ खेलमा तीन अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ भने छ खेलमा आठ अंक जोडेको राजस्थान तेस्रो स्थानमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्