दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीमा नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलामा यूएई सामू जितको लागि २ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय रनमा समेटियो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले ९० बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकीय पारी खेले भने ओपनर कुशल भुर्तेलले २४ रन जोडे ।
त्यस्तै करण केसीले २२ रन जोड्दा आरिफ सेख र सोमपाल कामीले समान १५-१५ र भिम सार्कील १० रन बनाए । युएईका लागि अजय कुमार र जुनेक सिद्दिकी समानतीन-तीन विकेट लिए भने खुजाइमा तनभीरले दुई विकेट लिंदा हैदर अली र मोहम्मद शाहदादको भागमा समान एक-एक विकेट रह्यो ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल(कप्तान) आशिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, दिपेन्द्रसिह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसिर अहमद र ललित राजवंशी रहेका छन् ।
सिरिजमा नेपाल, यूएई र ओमानको सहभागिता रहेको छ । नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिमको कप्तानीमा मैदान उत्रदै छ । आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्दै सिरिजमा सुखद सुरुवात गरे योजनामा रहेको छ भने उता यूएई पनि नेपाललाई उसकै मैदानमा पराजित गर्ने सुरमा रहेको छ ।
यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेल्नेछन् । आज नेपाल र यूएईले पहिलो खेल खेल्दा अप्रिल २७ मा ओमान र यूएईले, अप्रिल २९ मा नेपाल र ओमानले, मे १ मा नेपाल र युएईले, मे ३ मा ओमान र युएईले तथा मे ५ मा नेपाल र ओमानले खेल्ने तालिका रहेको छ ।
नेपाल २० खेलमा ५ जित, १३ हार र २ खेलको नतिजाविहिन हुँदा १२ अंक जोड्दै सातौं स्थानमा छ भने समान खेलमा ५ जित र १५ हारसहित १० अंक जोडेको यूएई पुछारमा रहेको छ । यता २४ खेल खेलेको ओमान भने १३ जित, ८ हार र ३ खेलको नतिजा नआउँदा २९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।
हेड टु हेड हेर्ने हो भने नेपाल र यूएईले १७ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपाल ९ खेलमा विजयी हुँदा ८ खेलमा यूएई विजयी भएको छ ।





प्रतिक्रिया राख्नुहोस्