राजनीति

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशील, चार आर्य सत्य सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताउनुभएको छ ।

२५७०औँ बुद्ध जयन्तीका अवसरमा आज आयोजित ‘बृहद् बौद्धसभा’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आजको विश्व अनेकन चुनौती, द्वन्द्व, असहिष्णुता, जलवायु सङ्कट र मानवीय मूल्यको क्षयबाट गुज्रिरहेको सन्दर्भमा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको स्पष्ट पार्नुभयो ।

उहाँले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताउनुभयो । बुद्धका मार्गदर्शनले व्यक्ति, समाज र राष्ट्रमात्र नभई समग्र विश्वलाई नै सकारात्मक बाटोतर्फ डोर्याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्त्वपूर्ण योगदान दिन सक्ने सबैको विश्वास रहेको बताउनुभयो ।

उहाँले बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवमात्र होइन, जिम्मेवारीको विषय पनि भएको भन्दै विविधता र बहुलताको समुचित व्यवस्थापन गर्दै शान्तिपूर्ण सहअस्तित्व कायम गर्नु आजको नेपालको आवश्यकता भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “वैशाख शुक्ल पूर्णिमाका पावन दिनमा बुद्धको जन्म, सम्यक् सम्बोधि (ज्ञान प्राप्ति) तथा महापरिनिर्वाणजस्ता त्रिसंयोग रहेको यो दिवस एक अद्वितीय क्षणको प्रतीक हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.