परराष्ट्रमन्त्री खनालसंग सार्क महासचिवको भेट
विश्वमा सबैभन्दा बढी गरिबी रहेको, सबैभन्दा ठूलो जनसांख्यिक शक्ति र प्राकृतिक स्रोत साधन रहेको दक्षिण एसियाको सुरक्षा, समृद्धिको आधार बन्नसक्ने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अहिले निस्क्रिय छ ।
यसबीचमा परराष्ट्रमन्त्री शिशिर खनालसँग सार्कका महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।
लामो समयदेखि क्षेत्रीय मुद्दाहरुमा निस्क्रिय सार्कको शिखर सम्मेलन नभएकै दशक बढी भैसकेको छ । भेटमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सार्कको स्थापना सन् १९८५ डिसेम्बर ८ मा दक्षिण एसियाका सात राष्ट्रहरू -पछि अफगानिस्तान थपिएको) बीच साझा हित र सहयोग अभिवृद्धि गर्ने उद्देश्यले भएको थियो ।
झण्डै चार दशक लामो यात्रामा यस संगठनले क्षेत्रीय सद्भाव र विकासका लागि धेरै खाकाहरू तयार गर्यो । तर, आजको बदलिंदो भूराजनीतिक परिवेशमा सार्क एक किसिमले अचेत अवस्थामा रहेको पुगेको छ ।
सन् २०१४ को काठमाडौं शिखर सम्मेलनपछि अर्को सम्मेलन हुन नसक्नुले यसको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ । सार्क बडापत्रले मुख्यतया आर्थिक वृद्धि, सामाजिक प्रगति र सांस्कृतिक विकासलाई जोड दिएको छ ।
दक्षिण एसियाका जनताको जीवनस्तर सुधार्नु र आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु तथा सदस्य राष्ट्रहरूबीच आर्थिक र प्राविधिक क्षेत्रमा सहयोग बढाई सामूहिक आत्मनिर्भरता मजबुत बनाउनु सार्कको मूल उद्देश्य थियो ।





प्रतिक्रिया राख्नुहोस्