भारतमा जारि इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा लखनउले बैंगलुरुलाई डिएलएस मेथड अनुसार ९ रनले पराजित गरेको हो ।
लखनउको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा वर्षाले प्रभावित भएको खेलमा पहिला ब्याटिङ गरेको लखनउले १९ ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले ५६ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै १ सय ११ रनको शतकीय पारी खेले भने निकोलस पुरनले २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाए ।
यस्तै ऋषव पन्तले ३२ रनमा अविजित रहँदा अर्शिन कुलकर्णीले १७ रन बनाए । बैंगलुरुको लागि जोस हेजलउड, क्रुनाल पाण्डेय र रसिख सलमले समान एक-एक विकेट लिए । त्यसपछि वर्षाले प्रभावित खेलमा बैंगलुरुले डिएलएस मेथड अनुसार १९ ओभरमा २ सय १३ रनको लक्ष्य पाएको थियो ।
तर बैंगलुरुले १९ ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन मात्र बनाउन सक्यो । बैंगलुरुका लागि कप्तान रजत पाटिदारले ३१ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय पारी खेले भने टिम डेविडले ४० रन बनाए । यस्तै देवदत्त पाडिकलले ३४ रन जोड्दा क्रुनाल पाण्डेयले अविजित २८ र रोमारियो शेफार्डले २३ रनमा नट आउट रहे । लखनउका लागि प्रिन्स यादवले तीन विकेट लिए भने शहबाज अहमदले दुई विकेट लिँदा मोहम्मद शमीको भागमा एक विकेट रह्यो ।
जितसँगै लखनउ १० खेलमा छ अंक जोड्दै तालिकाको पुछारमा छ भने समान खेलमा १२ अंक जोडेको बैंगलुरु तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाली समयनुसार पौने आठ बजे दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्