होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण
बाँकेको कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहत स्वरूप झुल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
कोहलपुर–११ स्थित क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराइएपछि विस्थापित भएका परिवारलाई हाल नयाँ बसपार्कको टर्मिनल भवनमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा राखिएको छ । त्यहाँ बसोबास गरिरहेका परिवारलाई रातिको समयमा लामखुट्टेको टोकाइबाट जोगाउन नगरपालिकाले झुल वितरण गरेको हो ।
कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले होल्डिङ सेन्टरमा रहेका बालबालिका, महिला तथा ज्येष्ठ नागरिक लामखुट्टेको समस्याबाट बढी प्रभावित भएकाले तत्काल राहतस्वरूप झुल वितरण गरिएको बताउनुभयो ।
उहाँका अनुसार मङ्गलबार मात्रै ६९ परिवारलाई झुल वितरण गरिएको छ । नगरपालिकाले वडा नम्बर २ देखि १४ सम्म विभिन्न स्थानमा १६ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । ती केन्द्रहरूमा अस्थायी आवास, खानेपानी तथा शौचालयको व्यवस्थासमेत गरिएको नगरपालिकाको भनाइ छ ।
कोहलपुर नगरपालिकाले विस्थापित परिवारको व्यवस्थापनसँगै वास्तविक भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीको तथ्याङ्क सङ्कलनको काम अघि बढाएको जनाएको छ ।
नगरप्रमुख पूर्णप्रसाद आचार्यले वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “वास्तविक भूमिहीन र सुकुमवासी नागरिकलाई व्यवस्थित रूपमा बसोबासको वातावरण मिलाइने छ । सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने नीतिअनुसार नगरपालिका अघि बढिरहेको छ ।”
नगरपालिकाका अनुसार क्रिकेट मैदान आसपासको क्षेत्र खाली गराइएपछि अधिकांश परिवार हाल विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् भने केही परिवार आफन्त तथा भाडाका घरमा सरेका छन् । उक्त क्षेत्रमा रहेका १४८ घरटहरा शनिबार र आइतबार नगरपालिकाले डोजर प्रयोग गरी हटाएको थियो ।





प्रतिक्रिया राख्नुहोस्