विश्व समाचार

आज ट्रम्प–सी शिखर वार्ता : व्यापार, प्रविधि र युद्ध तनाव मुख्य एजेन्डा

राष्ट्रपति डोनाल्ड ट्रम्प नौ वर्षपछि तीनदिने राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ पुग्नुभएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीनका शीर्ष नेताबिच आज बिहिबार बेइजिङमा बहुप्रतीक्षित शिखर वार्ता हुँदैछ ।

सन् २०१७ पछिको यो उहाँको पहिलो चीन भ्रमण हो । राष्ट्रपति ट्रम्प र राष्ट्रपति सी जिङपिङ बीच हुने वार्तालाई विश्व समुदायले अर्थतन्त्र, प्रविधि र भूराजनीतिक समीकरणका दृष्टिले निकै चासोका साथ हेरिरहेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भ्रमणअघि ट्रम्पले चीनसँगको व्यापार, प्रविधि र रणनीतिक सम्बन्धलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ । उहाँले अमेरिकी कम्पनी र प्रविधि क्षेत्रलाई चीनमा अझ सहज पहुँच दिलाउने विषयलाई प्रमुख प्राथमिकतामा राख्नुभएको छ ।

वासिङ्टनबाट प्रस्थान गरेपछि सामाजिक सञ्जालमार्फत ट्रम्पले चीनलाई अमेरिकी व्यवसाय र प्रविधिका लागि अझ “खुला” बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रपति सीलाई “असाधारण दृष्टिका नेता” भन्दै अमेरिकी प्रतिभा र प्रविधिले चीनको विकासलाई थप उचाइमा पुर्‍याउन सक्ने दाबी गर्नुभएको थियो ।

यस भ्रमणलाई ट्रम्प प्रशासनले सामान्य कूटनीतिक भेटभन्दा माथि उठाएर आर्थिक तथा रणनीतिक सम्बन्ध पुनः सन्तुलन गर्ने अवसरका रूपमा अघि सारेको देखिएको छ । यही कारण व्यापार र प्रविधि क्षेत्रका प्रभावशाली अमेरिकी व्यवसायीसमेत भ्रमण टोलीमा सहभागी भएका छन् ।

यता बेइजिङले वासिङ्टनसँग सम्बन्ध सुधारसँगै पश्चिम एसियामा बढ्दो तनाव कम गर्ने प्रयास पनि तीव्र बनाएको छ । चीनले अमेरिका–इरान तनाव अन्त्य गरी वार्तामार्फत समाधान खोज्नुपर्ने पक्षमा आफू रहेको संकेत दिएको छ ।

यसै क्रममा चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानलाई इरान र अमेरिकाबीच संवादका लागि मध्यस्थता प्रयास बढाउन आग्रह गरेको बताइएको छ ।

बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुल्स’मा राष्ट्रपति ट्रम्पको सम्मानमा राजकीय भोज, चियापान तथा उच्चस्तरीय स्वागत समारोह आयोजना गरिने कार्यक्रम छ ।

शिखर वार्तामा दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, कृत्रिम बौद्धिकता ९एआई० क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन, प्रविधि सुरक्षा तथा व्यापार युद्धविरामलाई थप एक वर्ष लम्ब्याउने विषय मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ । गत अक्टोबरमा दक्षिण कोरियामा भएको भेटपछि दुवै देशबीच तनाव केही कम भए पनि रणनीतिक प्रतिस्पर्धा भने कायम रहेको छ ।

इरान युद्धले अमेरिकामाथि १० खर्ब डलरसम्मको भार पर्ने चेतावनी
उता इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको खर्च तीव्र रूपमा बढिरहेको छ । पेन्टागनले हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च भएको स्वीकार गरे पनि विज्ञहरूले वास्तविक लागत धेरै माथि पुगिसकेको बताएका छन् ।

दीर्घकालीन सैनिक परिचालन, पूर्वसैनिकहरूको स्वास्थ्य सेवा, क्षतिग्रस्त सैन्य संरचनाको पुनर्निर्माण तथा नयाँ हतियार उत्पादनको खर्च जोड्दा यो युद्धले अन्ततः अमेरिकालाई १० खर्ब अमेरिकी डलरसम्मको आर्थिक भार पार्न सक्ने चेतावनी दिइएको छ ।

हार्वर्ड केनेडी स्कुलले सार्वजनिक गरेको अनुसन्धानले भने स्थिति अझ गम्भीर हुन सक्ने देखाएको छ । युद्ध बजेट विशेषज्ञ लिन्डा बिल्मेसले इरान युद्धको कुल लागत अन्ततः १० खर्ब अमेरिकी डलरसम्म पुग्ने दाबी गर्नुभएको छ ।

उहाँका अनुसार अहिले सार्वजनिक गरिएको खर्च वास्तविक युद्ध लागतको सानो हिस्सा मात्र हो, आगामी वर्षमा यसको आर्थिक भार अझ धेरै बढ्ने छ । अमेरिकी रक्षा मन्त्रालय पेटागानले ले पनि युद्ध खर्च १० खर्ब डलर नाघेको बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.