बिशेषराजनीति

विपक्षीहरुको नारावाजीकाबीच प्रतिनिधिसभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।

अर्थमन्त्री वाग्लेको जवाफपछि उहाँसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अर्यालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहनुभएन ।

विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समयको उपयोग गर्नुभएन । कतिपय विपक्षीका सदस्यले बैठक बाहिर निष्कनुभएको थियो ।

सभामुख अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँ दिँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नुभयो ।

सभामुख अर्यालले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तत गर्दा बहुमतले संशोधनहरू अस्वीकृत भएको घोषणा गर्नुभयो । उक्त नीति तथा कार्यक्रममाथि ३५ विपक्षी सांसदले संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यही वैशाख २८ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे ।

उठेका प्रश्नहरुको उत्तर दिंदै अर्थमन्त्री डा. वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले सरकारले सय बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई ध्यान दिएर आगामी बजेट प्रस्तुत गरिने जानकारी गराउनुभयो ।

सभाको पहिलो बैठकमा विपक्षी दलले प्रधानमन्त्री शाह नै उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.