भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा पञ्जाबको यो लगातार पाँचौं हार हो भने प्रतोयोगिताबाट बाहिरिसकेको मुम्बईको चौथो जित । पञ्जाबको दोस्रो घरेलु मैदान धर्मशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय रनको बनाएको थियो ।
पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले ३२ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय पारी खेले भने अजमतुल्लाह उमरजाइले ३८ रन बनाए । त्यस्तै प्रियाशं आर्यले २२ रन जोड्दा कुपर कोनलीले २१, विष्नु विनोदले १५ र जेभियर ब्राटली १८ रनमा अविजित रहे । मुम्बईका लागि शार्दुल ठाकुरले चार विकेट लिए भने दिपक चहरले दुई विकेट लिँदा केब्रिन बोस र राज अङ्गद बावाको भागमा समान एक-एक विकेट रह्यो ।
पञ्जाबले दिएको २ सय १ रनको लक्ष्य मुम्बईले १९ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको लागि तिलक बर्माले ३३ बलमा ६ चौका र ६ छक्काको सहयोगमा अविजित रहँदै ७५ रनको अर्धशतकीय इनिङ खेले भने रायन रिकल्टनले ४८ रन बनाए । यस्तै रोहित शर्माले २५ रन जोड्दा शेरफन रादरफोर्डले २० र विल ज्याक्स २५ रनमा अविजित रहे ।
पञ्जाबका लागि अजमतुल्लाह उमरजाइले दुई विकेट लिए भने मार्को यानसन र युजभेन्द्र चहलको भागमा समान एक-एक विकेट रह्यो । जितसँगै प्रतियोगिताबाट बाहिरिसकेको मुम्बई १२ खेलमा ८ अंक जोड्दै नवौं स्थानमा छ भने समान खेलमा १३ अंक जोडेको पञ्जाब चौथो स्थानमा रहेको छ ।
प्रतियोगिता अनतर्गत आज राति नेपाली समयनुसार पौने आठ बजे लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्