भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा कोलकातालाई ६ विकेटले पराजित गर्दै बेंगलुरु आइपिएलको शीर्ष स्थानमा उक्लिएको हो ।
बेंगलुरुको दोस्रो घरेलु मैदान रायपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रनको योगफल तयार गरेको थियो । कोलकाताका लागि अगंकृष रघुवंशीले ४६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले भने रिंकु सिंहले २९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४९ रनमा अविजित रहे ।
त्यस्तै क्रिस ग्रिनले ३२ रन जोड्दा कप्तान अजिंक्या राहाणेले १९ र फिना एलेनले १८ रन बनाए । बेंगलुरुका लागि भुवनेश्वर कुमार, जोश हेजलवुड र रशिक सलामले समान एक-एक विकेट लिए । कोलकाताले दिएको १ सय ९३ रनको लक्ष्य बेंगलुरुले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
बेंगलुरुको जितमा विराट कोहलीले ६० बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहँदै सर्वाधिक १सय ५ रनको शतकीय पारी खेले भने
देवदत्त पडीक्कलले २७ बलमा ७ चौकको सहयोगमा ३९ रन बनाए । यस्तै ओपनर ज्याकोब बेथहेलले १५ रन जोड्दा कप्तान रजत पाटीदारलले ११ रन बनाए । कोलकाताका लागि कार्तिक त्यागीले तीन विकेट लिए भने सुनिल नारिनको भागमा एक विकेट रह्यो ।
जितसंगै बेंगलुरु १२ खेलमा १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ११ खेलमा नौ अंक जोडेको कोलकाता आठौ स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाली समयनुसार पौने आठ बजे राजस्थान रोयल्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्