‘यातायात क्षेत्र सुधार्न यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्छ’
यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्नका लागि यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्ने बताएका छन् ।
नेपाल माइक्रो तथा बस कम्पनी प्रालिले वैशाख २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न सातौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिको सम्मानमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले बानी र व्यवहारले नेपालको सार्वजनिक क्षेत्र सुधार हुने बताउनुभएका हुन् ।
कार्यक्रममा महासङ्घका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले आफ्नो चारवर्षे कार्यकालमा नेपालको सार्वजनिक क्षेत्रमा धेरै सुधारका कामहरू भएको बताउनुभयो । “गोदावरी महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष चुनिएपछि मैले महासङ्घलाई उचाइमा पु¥याउन सबैको साथ माया पाएँ,” उहाँले भन्नुभयो ।
उहाँले अबको यातायात क्षेत्र ‘मीठो बोली’ र ‘मीठो खाना’मा केन्द्रित हुनुपर्ने बताउनुभयो । “हामीले करोडौँको लगानी गरेका छौँ, एउटा गाडी किन्दा डेढ करोडसम्म पर्छ, तर, अझै पनि हामीलाई ‘गाडीवाला’का रूपमा मात्र हेरिन्छ, अब हामी साँचो अर्थमा व्यवसायी बन्नुपर्छ,” उहाँले भन्नुभयो ।
महासङ्घका नवनिर्वाचित अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आफ्नो नेतृत्वले देशको समग्र यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।
उहाँले दुर्घटना न्यूनीकरण, प्रविधिमैत्री यातायातका लागि सरकारसँग समन्वय गरेर काम गरिने उल्लेख गर्नुभयो । अध्यक्ष सिटौलाले नेपालको यातायात क्षेत्र अब आधुनिक युगमा प्रवेश गरिसकेको बताउनुभयो ।
अध्यक्ष सिटौलाले १३ खर्ब लगानी र पाँच लाखभन्दा बढीलाई रोजगारी प्रदान गरेको सार्वजनिक यातायातलाई अगाडि बढाउन आफू दृढताका साथ लाग्ने उल्लेख गर्नुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष केदारप्रसाद पौडेल, महासचिव डेकनाथ गौतम, कोषाध्यक्ष राजेन्द्र आचार्यलगायतले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई मर्यादित, आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले यातायात क्षेत्रमा रहेका पुराना प्रवृत्तिलाई त्यागेर २१औँ शताब्दी सुहाउँदो सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको थियो ।
नेपाल माइक्रो तथा बस कम्पनी प्रालिका सञ्चालक नवराज आचार्यले धराशयी बन्दै गएको नेपालको सार्वजनिक यातायालाई अगाडि बढाउन नवनिर्वाचित कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा महासङ्घका निवर्तमान अध्यक्ष स्वाँर र नवनिर्वाचित अध्यक्ष सिटौलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।





प्रतिक्रिया राख्नुहोस्