क्रिकेटखेल

पञ्जाबलाई हराउँदै बेंगलुरु आइपिएलको प्लेअफमा

रोयल च्यालेन्जर्स बेंगलुरु भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल)को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । आइतबार भएको दिनको पहिलो खेलमा पञ्जाब किंग्सलाई २३ रनले पराजित गर्दै बेंगलुरु प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।

पञ्जाबको दोस्रो घरेलु मैदान धर्मशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । बेंगलुरुको लागि वेंकटेश अय्यरले ४० बलमा ८ चौका र ४ छक्काको सहयोगमा अविजित रहँदै ७३ रनको अर्धशतकीय पारी खेले भने विराट कोहलीले ३७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५८ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै देवदत्त पडिक्कलले ४५ रन जोड्दा टिम डेभिडले २८ रन बनाए । पञ्जाबको लागि हर्पीत ब्रारले दुई विकेट लिए भने अर्शदीप सिंह र युजभेन्द्र चाहलको भागमा समान एक-एक विकेट रह्यो । बेंगलुरुले दिएको २ सय २३ रनको लक्ष्य लिएर मैदान उत्रेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९९ रन मात्र बनाउन सक्यो ।

पञ्जाबको लागि शशांक सिंहले २७ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकीय पारी खेले भने मार्कस स्टोइनिस र कूपर कोनोलीले समान ३७-३७ रन बनाए । यस्तै सूर्यांश शेडगेले ३५ रन जोड्दा अज्मतुल्लाह ओमारजाईले १४ रन बनाए । बेंगलुरुको लागि राशिक सलामले तीन विकेट लिए भने भुवनेश्वर कुमारले दुई विकेट लिँदा जोश हेजलवुड, रोमारियो शेफर्ड र सुयश शर्माको भागमा समान एक-एक विकेट रह्यो ।

जितसँगै बेंगलुरु १३ खेलमा १८ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा १३ अंक जोडेको पञ्जाब चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.