बेलायत प्रहरी पूर्व राजकुमार एन्ड्रयूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे अनुसन्धान गर्न तयार
बेलायत प्रहरीले राजा चार्ल्स तृतीयका भाइ पूर्व राजकुमार एन्ड्रयूमाथि माथि लागेको यौन दुर्व्यवहारको आरोपबारे पनि अनुसन्धान गर्न तयार रहेको जनाएको छ ।
दिवंगत महारानी एलिजाबेथ द्वितीयका तीन छोरामध्ये माइलो छोरा एन्ड्रयूलाई अमेरिकी अर्बपति तथा यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धबारे नयाँ खुलासापछि गत फेब्रुअरीको मध्यतिर पक्राउ गरिएको थियो ।
थेम्स भ्याली प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार सम्भावित पीडित पक्षका वकिलसँग सम्पर्क गरिएको छ । सञ्चारमाध्यमका अनुसार सन् २०१० मा एक महिलालाई “यौन प्रयोजनका लागि” लन्डनको उत्तरतर्फ रहेको विन्डसर शहरमा ल्याइएको दाबी गरिएको छ, जहाँ एन्ड्रयू बसोबास गर्दै आएका थिए ।
प्रहरीलाई जनतामा आफूहरूले एन्ड्रयूमाथि सार्वजनिक पदको दुरुपयोगसम्बन्धी आरोप मात्रै अनुसन्धान गरिरहेका छन् भन्ने धारणा बनेकोमा चिन्ता रहेको बताइएको छ ।
पूर्व राजकुमारले बेलायतको व्यापार दूतका रूपमा काम गरेको दशकभर अमेरिकी वित्तीय अपराधी एप्स्टिनलाई संवेदनशील जानकारी उपलब्ध गराएको आरोपबारे पनि अनुसन्धान भइरहेको छ ।
प्रहरीले अमेरिकामा “एप्स्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट” अन्तर्गत सार्वजनिक गरिएका कागजातपछि “विभिन्न प्रकारका कथित दुराचारका पक्षहरू” अनुसन्धानको दायरामा रहेको जनाएको छ ।
सार्वजनिक पदको दुरुपयोगसम्बन्धी अनुसन्धानसँगै “सन् २०१० मा एक महिलालाई यौन प्रयोजनका लागि विन्डसरस्थित एक ठेगानामा लगिएको” भनिएको घटनाको मूल्यांकन पनि जारी रहेको प्रहरीले स्पष्ट पारेको छ ।
प्रहरीको वक्तव्यमा भनिएको छ, “यदि ती महिलाले प्रहरीमा उजुरी दिन चाहिन् भने त्यसलाई गम्भीरतापूर्वक लिइनेछ र संवेदनशीलता, सावधानी, गोपनीयता तथा उनको नाम गोप्य राख्ने अधिकारको सम्मानसहित प्रक्रिया अघि बढाइनेछ भन्ने पुष्टि गर्न हामीले उनका कानुनी प्रतिनिधिसँग सम्पर्क गरेका छौं ।”
प्रहरीले यस घटनासम्बन्धी जानकारी भएका व्यक्तिहरूलाई अगाडि आउन पुनः अपिल पनि गरेको छ ।
फेब्रुअरीमा पक्राउ परेपछि माउन्टबेटन–विन्डसरलाई सन् २००१ देखि २०११ सम्म बेलायतको व्यापार दूतका रूपमा विश्व भ्रमण गरेको अवधिमा सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा घण्टौंसम्म प्रहरी चौकीमा बयान लिइएको थियो ।
माउन्टबेटन–विन्डसरले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । उनीमाथि हालसम्म कुनै अभियोग दर्ता गरिएको छैन, तर उनी अझै प्रहरी निगरानीमा रहेका छन् ।
एप्स्टिनसँगको सम्बन्धलाई लिएर बढ्दो विवादपछि राजा चार्ल्सले गत अक्टोबरमा एन्ड्रयूका शाही उपाधिहरू खोसिदिएका थिए । एप्स्टिनको सन् २०१९ मा जेलमै मृत्यु भएको थियो ।
एन्ड्रयूलाई लन्डननजिकै विन्डसरस्थित ‘रोयल लज’ निवासबाट पनि हटाइएको छ । हाल उनी पूर्वी नोर्फोकस्थित राजाको निजी ‘स्यान्ड्रिङ्घम एस्टेट’मा बस्दै आएका छन् ।




प्रतिक्रिया राख्नुहोस्